Public Pana
सय किलो सुन अदुकियाकै हुन सक्ने राजस्वको निष्कर्ष

राजस्व अनुसन्धान विभागले करिब सय किलो तस्करीको सुनका मुख्य ठेकेदार राकेश अदुकिया नै भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । 

रेडी ट्रेड प्रालिका नाममा ब्रेक सुमा राखेर हङकङबाट काठमाडौँ ल्याइएको सुन सिनामंगल पु¥याइसकेको अवस्थामा राजस्वको टोलीले साउन २ गते बरामद गरेको थियो । 

सुन बरामद गरेदेखि नै व्यापारीहरु अदुकिया, दीपक मलहोत्रा र सञ्जय बबैया राजस्वको अनुसन्धान रेडारमा तानिएका थिए । 

तीनै जनामाथि समानान्तर अनुसन्धान गरिरहेको राजस्वको टोली १७ दिनपछि साउन २ मा बरामद भएको सय किलो सुनका सुनका मुख्य ठेकेदार अदुकिया भएको निचोडमा पुगेको हो। तर यो सुन राकेशले कहाँ कहाँ पुर्याउँथे भन्ने खुलिसकेको छैन । 

यद्यपि अब यस सुन प्रकरणको थप अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गर्ने भएकोले नयाँ तथ्य भेटिने सम्भावना पनि छ । 

‘यो सुन राकेश अदुकियाकै भन्ने हाम्रो अनुसन्धानको प्रारम्भिक निष्कर्ष छ,’ अनुसन्धानमा खटिएका एक अधिकृतले भने, ‘केही तथ्यले हामी सुनको मुख्य मालिक उनै हुन् भन्नेमा पुगेका हौँ ।’

नेपालमा सुन बरामद भएकै दिनदेखि अदुकिया सम्पर्कविहीन छन् । उनी २५ वर्षअघिदेखि सुन ल्याउने कार्यमा संलग्न रहेको आरोप छ ।
‘सय किलो सुनका मालिक खोज्दै जाँदा हामीले अदुकियाका केही शंकास्पद गतिविधि नियालेर यो सुन उनकै हो भन्ने निचोडमा पुग्यौँ,’ नाम उल्लेख नगर्ने सर्तमा ती अधिकृतले थपे, ‘जे तथ्य भेटाएको छौँ, सोही कुरा उल्लेख गरेर अब केही दिनमा रिपोर्ट बुझाउँछौँ ।’

 

अदुकियाले आफू कुन देशमा कहाँ बसेको अहिले केहि नभन्ने सीबीआईले अनुसन्धान गरोस्, केही समयम आफू निष्कने उल्लेख गर्दै मुख्य तस्कर जोगाउन र विषयलाई मोड्न आफ्नो नाम मुछिएको दाबी गरे । 
 

सुन तस्करी प्रकरणलाई संगठित अपराध अन्तर्गत अनुसन्धान गर्न सीआईबीले अनुमति पाएसँगै अनुसन्धान नयाँ रुपबाट अघि बढ्ने जनाएको छ ।

अदुकियाले भारतीय राहदानी प्रयोग गरेर हङकङ र यूएई यात्रा गर्ने गरेको देखिएको छ। पछिल्लो नौ महिनामा उनले १४ पटक नेपाल–हङकङ ओहोरदोहोर गरेका छन् ।

२०७९ असोजदेखि २०८० असारसम्ममा अदुकिया त्रिभुवन विमानस्थलबाट १४ पटक हङकङ पुगेको विमानस्थल अध्यागमनको रेकर्डमा देखिन्छ ।

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  ०५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update