Public Pana
बजारमा तीज गीत, पुरुष कलाकारकै वर्चस्व

रामबहादुर थापा

मलमासले धकेलिएर तीज असोजमा पुगेको छ। युट्युबमा छाइरहेका तीज गीतले भने तीज पर्व दैलोमा आएको आभाष दिलाउँछ।

तीज आउन अझै डेढ महिना बाँकी छ तर तीज गीतले युट्युबमा प्रवेश पाएको भने गत असारदेखि नै हो।

अनेक विषय, भाव र बान्कीका तीज गीतले पर्वमय माहोलको छनक दिएका छन् । अधिक गीतमा प्रेम र सौन्दर्यको चर्चा छ । कतै श्रीमान–श्रीमती त कहीँ प्रेमी(प्रेमिकाबीचको मायावी संवाद गीतमा सुन्न पाइन्छ । यस्तै एउटा गीतमा श्रीमान र श्रीमतिको संवाद समावेश छ ।

श्रीमान भन्छन् 

‘चौधरी हैन, अम्बानी हैन

तैपनि मनमा पिर चिन्ता छैन

हे नाच्ने हो गाउने हो

कमाउने नि हो, रमाउने नि हो‘’

श्रीमती जवाफ फर्काउँछिन् 

‘थिएन हिजो लाइएन राम्रो

आज त छुट्टै इज्जत छ हाम्रो

हे नाच्ने गाउने हो

कमाउने नि हो, रमाउने नि हो‘’

गत असार २७ मा सार्वजनिक गायक खेम सेञ्चुरी र सुनिता बुढा क्षेत्रीद्वारा स्वरबद्ध तीज गीत ‘कमाउने नि हो, रमाउने नि हो’ले हालसम्म युट्युवमा ६९ लाख बढी ‘भ्युज’ पाएको छ। ‘शुभारम्भ डिजिटल म्युजिक’ युट्युव च्यानलबाट सार्वजनिक उक्त गीतमाथि दुई हजार पाँच सय बढीले टिप्पणी गरेका छन्। नेत्र अर्यालको शब्द रहेको उक्त गीतमा गायक सेञ्चुरीले नै सङ्गीत दिएका छन्।

गीतको ‘म्युजिक भिडियो’मा कलाकार प्रकाश सपुत र जुना विश्वकर्माको अभिनय देख्न सकिन्छ । गीत चर्चित गायक-सर्जक पशुपति शर्माको गीत ‘झुक्याउन पाइँदैन’को म्युजिक भिडियो एकै दिनमा एक लाख ५० हजारभन्दा बढी पटक हेरिएको छ। बिहीबार सार्वजनिक उक्त गीतमा गायक शर्मा र गायिका निशा केसीको स्वर छ । शब्द र सङ्गीत शर्मा आफैँले दिनुभएको छ । गीतको अभियन र नृत्यमा शर्मालाई कलाकार अञ्जली अधिकारीले साथ दिएकी छन्।

गीतमा प्रेमी गुनासो गर्छन्–
‘मुटु माग्यो मुटु दिएँ
कलेजी माग्यो कलेजी दिएँ
हे तर खुसी हुँदिनौँ कि माया अन्तै छ र

चाहिँदैन मलाई नक्कली माया चाहिँदैन
हो भने हो भन नत्र झक्काउन पाइँदैन‘’
प्रेमिकाले भन्छिन् 
‘बाबाआमा टाढा भए

जेजे भन्यौँ त्यैत्यै सहेँ

हे तर खुसी हुँदैनौँ कि माया अन्तै छ र

चाहिँदैन मलाई नक्कली मायाँ चाहिँदैन

हो भने हो भन नत्र झक्काउन पाइँदैन‘’

मन छुने भाका, शब्द र सुरिलो गायकीले तीज गीतलाई सरल र श्रतिमय बनाएको पाइन्छ । लोकगायक विष्णु खत्रीले पनि बिहीबार नै तीज गीत सार्वजनिक गरे। उनको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गीत ‘तीज आयो’ले हालसम्म ६५ हजार बढी ‘भ्युज’ बटुलेको छ । खत्रीको गीतमा पनि श्रीमान–श्रीमतीबीचको गन्थन छ ।

श्रीमती–

‘असाध्यै राम्री देखिन्छेस्

भन्छन् साडीमा मलाई त

निस्कन मन लाग्दैन कतै

साडी नै नलाई त

तीज आयो तीज

यसपालि मलाई फूलबुट्टे

साडी किन्दिउन है प्लिज‘’

श्रीमान् –

‘पहिरनले पनि नारीलाई

झनै सुन्दर बनाउँछ

तिमीले लाउने लुगाले

मेरो स्तर जनाउँछ

तीज आयो तीज

कुन चाहिँ साडी किन्दिउँ त

तिम्लाई हङकङ कि जापनिज‘’

Youtube_iphone_1691156111.jpg

यी त प्रतिनिधि तीज गीत हुन् । तीज पर्व नजिकिँदै जाँदा दैनिकजसो युट्युबाट तीज गीत सार्वजनिक भइरहेका छन् । तीजको याम सुरु भएपछि कलाकारले अरू विधाका गीतलाई थाती राख्छन् । तीज गीतले सधैँ चलिरहने लोकदोहोरीलाई पनि ओझेलमा पारिदिन्छ। बर्सेनि तीज आउँदा यस्ता गीत निकाल्ने लहरै चल्छ।

पर्व गीतको उपमा पाएको तीज गीतलाई कलाकारले त्यसको मूल प्रवृत्तिबाट विमुख पारेको भन्दै चिन्ता पनि व्यक्त हुँदै आएको छ । पहिलेका तीज गीत घटनाप्रद, युग सुहाउँदो, चेतना जागृत गर्ने र समसामयिक विषयवस्तुमा केन्द्रित हुन्थे। खासगरी महिलाले तीज गीतलाई वर्षभरिका दुःख, पीरवेदना र चोट सार्वजनिक गर्ने माध्यम बनाउँथे। महिला मुक्तिको आवाज पनि तीज गीतमा उठ्थ्यो।

अहिलेका तीज गीतमा भने मायाप्रेमको मुद्दा बढी मुखरित भएको पाइन्छ । विपरीत लिङ्गीबीचको संवेदना, प्रेम र रोमान्सलाई समेत तीज गीतमा उठान गरिएको पाइन्छ। तीज गीतमा पनि पुरुष कलाकारकै वर्चस्व देखिन थालेको छ। तीज गीतको सौन्दर्य नासिँदै गएकामा कला मर्मज्ञ पनि चिन्तित छन्।

कलाकार भने आधुनिक समाज विकाससँगै मानवीय अभिरुचि र प्रविधिमा आएको फड्कोलाई स्वीकारेर अगाडि बढ्नुको विकल्प नभएको टिप्पणी गर्छन्। क्यासेट र सिडीको जमना गएपछि कलाकार अहिले युट्युबकै भरमा छन् । ‘भ्युज’, ‘लाइक’ र ‘कमेन्ट’का आधारमा सर्जक÷कलाकारलाई युट्युबले पैसा दिन्छ। 
 

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  २२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update