Public Pana
माओवादी केन्द्रीय समितिमा उपाध्यक्ष महरामाथि प्रश्न उठ्यो 

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको काठमाडौंमा जारी केन्द्रीय समितिको बैठकमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरामाथि छानबिनको माग उठेको छ ।

महरा सुन तस्करीमा संलग्न रहेको भनेर सार्वजनिक रुपमा प्रश्न उठिरहेको भन्दै उनीमाथि छानबिन गर्न माग उठेको हो । 

बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य समेत रहेका केन्द्रीय सदस्य लेखनाथ दाहालले सार्वजनिक रुपमा प्रश्न उठेकाले महरामाथि पनि छानबिन गरिनुपर्ने तर्क गरे । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि टिप्पणी गर्दै उनले माओवादीको नेतृत्वमा सरकार रहेको समयमा पार्टीको उपाध्यक्ष पदमा रहेका व्यक्तिमाथि सुन तस्करीको आरोप लागेको अवस्थामा यसलाई छानबिन गरेर प्रष्ट पार्नुपर्ने दाहालको भनाइ थियो । 

यदि अहिले छानबिन नगर्ने हो भने पार्टीले उन्मुक्ती दिएको भनि सधैं प्रश्न उठ्ने भएकाले त्यसको निवारणका लागि पनि छानबिन हुनुपर्ने दाहालले दाबी गरे।  अनुसन्धानबाट ‘क्लिन चिट’ नपाएसम्म प्रश्न उठ्ने र आरोप लाग्नेक्रम चलिरहने भएकाले छानबिनबाटै यसको किनारा गर्नुपर्ने दाहालले उल्लेख गरे । 

केही समय अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इलेक्ट्रिक सिगरेटमा लुकाएर ल्याइएको तस्करीको सुन प्रकरणमा माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुल महराको नाम जोडिएको थियो ।

सुन तस्करीमा संलग्न रहेका भनिएका चिनियाँ नागरिकसँग महरा र उनका छोरा राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको विषय सार्वजनिक भएको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update