Public Pana
देशभर निर्माण कार्य ठप्प पार्ने व्यवसायीको चेतावनी

सरकारले आफूहरुको माग सम्बोधन नगरे देशभर काम ठप्प बनाउने नेपाल निर्माण व्यवसायी महासंघले चेतावनी दिएको छ ।

निर्माण व्यवसायीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा निर्माण उपकरणसहित आज शुक्रबार धर्ना दिएका छन् ।

धर्ना कार्यक्रममा निर्माण व्यवसायीहरुले पूर्ववर्ती सरकारले गरेका गल्ती सच्याएर देश विकासका लागि सरकार सच्चिन आवश्यक रहेको जनाए । उनीहरुले बजेट दिन नसक्ने आयोजनाहरु खारेज नगरे देशमा निर्माण व्यवसायीहरुको आन्दोलन थप चर्किने चेतावनी दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले रक्षा मन्त्रालय नै ठेक्कापट्टामा लागेको भन्दै रक्षा मन्त्रालयले सुरक्षा व्यवस्था चुस्त बनाउने हो कि ठेक्का(पट्टामा लाग्ने हो ? भन्दै प्रश्न गरे । उनले सरकारले निर्माण व्यवसायीको माग पूरा नगरे आफूले सांसदको पद त्याग्ने चेतावनी पनि दिए ।

उनले निर्माण व्यवसायीहरु प्लेकार्डमा मात्रै एकत्रित हुने नभई जुनसुकै बेलामा एकत्रित हुनुपर्ने धारणा राखे । छिटो काम सम्पन्न गर्ने कुरामा सबै निर्माण व्यवसायी जुट्नुपर्ने उनको सुझाव छ । उनले लामो ग्याप गरेर भुक्तानी नरोक्न सरकारलाई सुझाव दिँदै प्रत्येक महिनाको ग्याप राखेर रकम भुक्तानी गर्न आग्रह गरे ।

विरोध कार्यक्रममा महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले निर्माण व्यवसायीहरु सरकारबाटै ठगिरहेको आरोप लगाए ।

उनले सरकारको काम निर्माण व्यवसायीहरुले गरेकाले कामको भुक्तानी सबैभन्दा पहिला गर्नुपर्ने माग राखे । निर्माण व्यवसायी नेपालको मुहार फेर्ने जमात भएकाले बाटोमा खडा हुने अवस्था बाध्य नबनाउन उनको चेतावनी थियो । उनले सिंहदरबार, बालुवाटार, शीतलनिवास निर्माण व्यवसायीहरुले नै निर्माण गरेको भन्दै निर्माण व्यवसायीका माग पूरा गर्न आग्रह गरे ।

nirman bebasai -21691144081.jpg

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update