Public Pana
दोलखामा पहिरो नाबालकको मृत्यु ३ जना बेपत्ता

दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ७, टोपाटारमा पहिरोमा पुरिएर नाबालकको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन्। तीन जना घाइते भएका छन्। ।

प्रहरीका अनुसार गएराति बस्ती माथिबाट खसेको पहिरोले घर पुरिँदा स्थानीय टोपबहादुर थामीका १५ महिनाका छोरा प्रिन्स थामीको मृत्यु भएको हो ।

पहिरोमा पुरिएर स्थानीय ४९ वर्षीय हरिलाल श्रेष्ठ, ६० वर्षीय कृष्णबहादुर मगर र ५० वर्षीया देवीमाया मगर बेपत्ता भएको दोलखा प्रहरीले जनाएको छ । पहिरोमा परी ४० वर्षका यज्ञबहादुर थामी, उनकी पत्नी ३९ वर्षीया धनमाया थामी र २२ वर्षीया बुहारी सीता थामी घाइते भएका छन्। उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको छ ।

घाइतेमध्ये यज्ञबहादुर र धनमायालाई शुक्रबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि काठमाडौं लगिएको त्यहाँबाट प्रहरीले जनाएको छ ।

अर्की घाइते सीता थामीको भने सिंगटी अस्पतालमा उपचार भइरहेको छ । 

गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वाश कार्की घाइतेको उद्धारका लागि हेलिकोप्टर लिएर घटनास्थल पुगेका थिए ।
गएराति करिब ९ बजे बस्तीमाथिबाट पहिरो खस्दा टोपाटारका ५ वटा घर पुरिएका हुन्।

दोलखाका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश खड्काले बेपत्ता भएकाहरूको खोजी जारी राखेको र पहिरोको जोखिममा रहेकाहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जानकारी दिए ।
 

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update