Public Pana
स्कुल बसको झ्यालबाट टाउको निकाल्दा रुखमा ठोक्किएर बालकको मृत्यु

काठमाडौंको लाजिम्पाटमा बसको झ्यालबाट टाउको निकाल्दा रूखमा ठोक्किएर एक बालकको मृत्यु भएको छ।
बुधबार दिउँसो साढे ३ बजे बेस्ट इलिमेन्टरी मन्टेश्वरी स्कुलमा अध्यनरत १३ वर्षीय आयुष्मान दाहालको मृत्यु भएको हो । टाउको ठोक्किएर गम्भीर घाइते उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको टाउको लाजिम्पाटस्थित सडक किनारमा रहेको रुखमा ठोक्किएको थियो । बा १ क ४६४२ नम्बरको बसको झ्यालबाट टाउको निकाल्दा रूखमा ठोक्किएर घाइते भएका थिए।

प्रहरीका अनुसार घटना स्कुल बाहिर भएको थियो। गाडी विद्यालयबाट निस्किने बेलामा दुर्घटना भएको थियो। 


उनी ५ कक्षामा अध्ययरत थिए। घटनापछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो। त्यहाँ उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। 

स्कुलको लार्पवाहीले उनको ज्यान गएको भन्दै मृतकका परिवार तथा आफन्तले दोषीमाथी कारवाही गर्न माग गरेका छन् । बालबालिका बोक्ने सवारी साधनलाई पुर्णरुपमा सुरक्षित बनाउनुपर्ने दायित्व स्कुल व्यवस्थापनको भएकाले उक्त घटनामा मन्टेश्वरी संचालकलाई पनि कारवाहीको दायरामा ल्याउने प्रहरीको भनाई छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update