Public Pana
न्यायाधीश निवास अब पुल्चोकमा 

ललितपुरको पुल्चोकस्थित मन्त्री निवास अब सर्वोच्च अदालतका न्यायाधीशहरुको निवास बन्ने भएको छ ।

भैंसेपाटीमा मन्त्रीहरुको निवास निर्माण भएपछि पुल्चोकमा रहेको मन्त्री निवासलाई सर्वोच्च अदालतका न्यायाधीशको निवास बनाउने निर्णय भएको हो ।
 

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले मन्त्रिपरिषदबाट भएको निर्णयको पत्र प्राप्त भइसकेको बताए । उनले भने, ‘पुल्चोकको मन्त्री क्वार्टर भैंसेपाटीमा सरेपछि त्यो ठाउँमा सर्वोच्च अदालतका न्यायाधीशहरुलाई निवास दिने भन्ने निर्णय प्राप्त गरिसकेका छौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले सामूहिक आवास पाउने निर्णय भएको छ ।’
 

सर्वोच्च अदालतका प्रवक्ता विमल पौड्यालले केही महिनाअघि नै मन्त्रिपरिषदबाट न्यायाधीशको निवासबारे निर्णय भएको र त्यसको जानकारी सर्वोच्च अदालतमा प्राप्त भइसकेको बताए । उनका अनुसार पुल्चोकको मन्त्री निवास खाली नभइसकेकाले थप निर्णय र अरु गृहकार्य भएको छैन ।


शहरी विकास मन्त्रालय अन्तर्गतको विशेष भवन निर्माण आयोजनाले ललितपुरको भैंसेपाटीमा संघीय सरकारका मन्त्रीको निवासका लागि २७ वटा भवन बनाइसकेको छ ।


आयोजना प्रमुख मचाकाजी महर्जनले मन्त्री निवासको निर्माण सकिएको र आन्तरिक सजावट र व्यवस्थापनको काम भइरहेको बताए । उनले भने, ‘स्थानीय बासिन्दाको केही गुनासो सम्बोधन हुन बाँकी छ, आगामी दशैंसम्ममा मन्त्री क्वार्टर पूर्णरुपमा तयार हुन्छ ।’


पुल्चोकको मन्त्री निवासमा भने १७ वटा भवन छन् । सर्वोच्च अदालतमा २१ न्यायाधीशको दरबन्दी छ, जसमध्ये प्रधानन्यायाधीशका लागि बालुवाटारस्थित प्रधानमन्त्री निवाससँग जोडिएको छुट्टै निवासको व्यवस्था छ । सर्वोच्च अदालतमा सबै न्यायाधीशको पदपूर्ति भएमा पुल्चोकस्थित क्वार्टरमा ३ न्यायाधीशका लागि भवन नपुग्ने अवस्था छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update