Public Pana
संगठन निर्माण र विस्तारमा रास्वपा 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भदौमा वडा समितिका उम्मेदवार संकलन गर्ने भएको छ । संगठन निर्माण र विस्तारमा जुटेको रास्वपाले अनलाइनमार्फत भदौमा वडा समितिका उम्मेदवार संकलन गर्न लागेको हो ।

रास्वपाका सहमहामन्त्री तथा संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले भने, ‘भदौदेखि वडा समितिको उम्मेदवार अनलाइनबाट संकलन गर्ने तयारी भइरहेको छ । भदौ महिनाभरी हामीले उम्मेदवारी लिन्छौं ।’ उनका अनुसार उम्मेदवारी संकलन भइसकेपछि असोजमा दाबी–विरोधको प्रक्रिया सुरु हुने छ ।

रास्वपाको वडा समितिमा  वडाध्यक्ष, उपाध्यक्ष, सचिव र सदस्यहरु रहने व्यवस्था छ । ११ सदस्यीय वडासमितिमा ४ जना महिला अनिवार्य हुनुपर्ने छ भने त्यसमध्ये एकजना दलित महिला सदस्य पनि रास्वपाले अनिवार्य गरेको छ ।

वडा समितिलाई अभिलेखीकरणमा आउनका लागि रास्वपाले केही मापदण्ड राखेको छ । मापदण्ड पुरा नभएका वडाको अभिलेखीकरण हुँदैन । रास्वपाले मापदण्डमा मुख्यत तीनवटा कुरा राखेको छ ।

एउटा दलित महिला सदस्य हुनुपरो। महिला ३३ प्रतिशत हुनुपरो । सम्बन्धित वडामा न्युनतम सदस्य संख्या पुगेको हुनुपर्ने रास्वपाले मापदण्ड राखेको छ ।  

गाउँपालिकाका वडामा कमिटी गठनका लागि न्युनतम ३३ जना क्रियाशील सदस्य भएको हुनुपर्छ । त्यसपछि मात्र कमिटीको अभिलेखीकरण हुन्छ ।

यस्तै नगरपालिकाको वडामा न्युनतम ४४ जना क्रियाशील सदस्य पुगेपछि बल्ल वडा समितिको अखिलेखीकरण हुने रास्वपाले जनाएको छ । 

रास्वपाले ७ सय ५३ मध्ये करिब २ सय ९० पालिका, १ सय ६५ मध्ये १ सय ५४ निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र, ७७ मध्ये ७४ जिल्ला, सात प्रदेश समिति बनाइसकेको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update