Public Pana
माओवादीभित्र रूपान्तरणको आवश्यकता

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक दोस्रो दिन पनि चलिरहेको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा बैठक बसिरहेको हो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि छलफल चलिरहेको छ । आजको बैठकको शुरुमा केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले आफ्नो धारणा राखेका छन् ।

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले पार्टीभित्र रूपान्तरणको आवश्यकता रहेको औंल्याएका छन् ।

माओवादी केन्द्रको आज बिहीबार जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले स्वाधीनता, परिवर्तनको रक्षा, समृद्धि, शान्ति प्रक्रिया, समाजवादमा लैजानुपर्ने अहिलेको मुख्य कार्यभार रहेको पनि बताए । 

संगठनात्मक यथास्थितिवादको अन्त्य गर्नुपर्ने बताउँदै श्रेष्ठले नेतृत्व कमजोर भयो भने रूपान्तरण नहुने दृष्टिकोण राखे। उनले अध्यक्ष प्रचण्डको प्रतिवेदनमा आफ्नो पूर्ण समर्थन रहेको र बैठकपछि पूर्ण प्रतिवेदन आउने जानकारी पनि दिए । 

केन्द्रीय सदस्य हितबहादुर तामाङले पार्टी नेताहरूले चुनाव जित्न पैसामात्रै सम्झिने आदर्श बिर्सिने प्रवृत्ति बढिरहेको भन्दै त्यसको समीक्षा हुनुपर्ने बताए। उनले आफ्नो र अर्को नभनी विगतको निर्मम समीक्षा गर्नुपर्ने बताए ।

केन्द्रीय सदस्य माधव सापकोटाले नेतृत्वको बीचमा मात्रै कार्यविभाजन भएर पार्टी नचल्ने बताए। उनले माओवादी पार्टी क्रान्तिकारी हो कि यथास्थितिबादी भनेर प्रश्न गरेका थिए ।

हरि अधिकारीले विधान संसोधन गर्न सजिलो भए पनि लागु गर्न गाह्रो हुने टिप्पणी गरे। धनीराम यादवले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा सम्पर्क कार्यालय र बालुवाटार र खुमलटार केन्द्रीय कार्यालयजस्तो भएको बताए ।

नेताहरूले छोराछोरीलाइ पिए राख्न नहुने धारणा यादवको पनि थियो। नेताहरूका छोराछोरीलाई जयजयकार गर्नुपर्ने अवस्था आएको भन्दै दुःख व्यक्त गरे।

आजको केन्द्रीय कमिटी बैठक साँझ ६ बजेसम्म चल्ने माओवादीले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update