Public Pana
देउवासँग नजिकिएको भन्नेमा शेखर कोइरालाद्धारा प्रष्टीकरण

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग नजिकिएको भन्ने सन्दर्भ उठाएर यसबारे प्रष्टीकरण दिएका छन् ।

आज बिहीबार काठमाडौं प्रेस युनियनले गरेको पदस्थापना कार्यक्रममा उनले भने,‘सभापति देउवासँग शेखर मिल्यो भनेर लेखिराखेका छन्, केमा मिल्यो मैले बुझ्न सकेको छैन, सभापतिले बोलाउनुभएको बेला भेट्न गएको हुँ ।’

उनले सभापतिले बोलाएका बेला मात्रै आफू भेट्न गएको र भेट्न आउँछु भनेर आफूले समय लिएर सभापति देउवालाई नभेटेकोसमेत प्रष्टीकरण दिए ।

१४ औं महाधिवेशनमा सभापति पदमा देउवासँग प्रतिस्पर्धा गरे पनि संस्थापनइतर समूहको नेता हुन नसकेको आरोप कोइरालामाथि लाग्दै आएको छ ।

साउन २ देखि १० गतेसम्म चलेको केन्द्रीय समिति बैठकमा कोइरालाको भूमिकालाई लिएर पनि उनी देउवासँग नजिकिएको आकलन समूहभित्रबाटै भइरहेको छ ।

महामन्त्री गगन थापामाथि केन्द्रीय समितिमा सभापति देउवा समूहले गरेको ’घेराबन्दी’ मा शेखर ’मौन’ बसिदिएको आरोप उक्त समूहभित्रैबाट आइरहेको थियो ।

सभापति देउवासँग केमा मिलेको हो खुलाइदिनसमेत उनले आग्रह गरेका थिए। ‘मिल्ने भनेको त एजेन्डामा होला, कतिपय विषयमा सभापतिजी तपाईंहरूका निर्णय गलत छन् भनेर मैले भनेकै छु, तपाईंहरू यसबारे लेखिदिनुहुन्न,’ उनले गुनासो गरे ।

गाली गर्ने स्वभाव आफूमा नभएको उनको भनाइ छ ।

‘मलाई मेरो परिवारले केही संस्कार दिएको छ । गाली नगर, बरू गाली खाऊ, पचाऊ,’ उनले भने, ‘चित्त नबुझेका कुरा छन् भने बरू नबोल भनेका छन् ।’

संस्थापनइतर समूहमा फाटो ल्याउन यस्ता कुरा आइरहेको उनको आरोप छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update