१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको थुनछेक बहस सुरू भएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस सुरू भएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।
सुरूमा सरकारी वकिलले पीडितको पक्षबाट र त्यसपछि सन्दीपका वकिलहरूले बहस गर्नेछन्।
लामिछानेलाई थुनामा पठाउने वा तारिखमा मुद्धाको पुर्पक्ष गर्ने भन्नेवारे आजै अदालतले आदेश दिनेछ । तत्काल प्राप्त प्रमाणका आधारमा अदालतले यस्तो आदेश दिने गरेको छ ।
सरकारी वकिलको कार्यालयले सन्दीप लामिछानेविरूद्धको मुद्दा सोमबार अदालतमा दर्ता गरेको थियो।
प्रहरीले कात्तिक ४ गते नै उनीविरूद्धको अनुसन्धान सकेर प्रतिवेदन कार्यालयमा बुझाएको थियो। तर तिहार बिदा सुरू हुँदा अदालतमा मुद्दा दर्ता हुन सकेको थिएन।
सन्दीपविरूद्ध १७ वर्षीया किशोरीले जबरजस्ती करणी गरेको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो।
२४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते उनलाई जिल्ला अदालतमा जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो।