Public Pana
ललितपुरमा ‘लम्पी स्किन’ बढ्दो,७२ भैँसी र ११ गाई मरिसकेका

ललितपुरमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा देखिएको छ । झिङ्गा, लामखुट्टेका टोकाइबाट पशुमा सर्ने सङ्क्रमण फैलिदै गएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरकी डा. निशा तिमिल्सिनाका अनुसार ललितपुरमा वैशाखदेखि साउन १६ गतेसम्ममा एक हजार चार सय ३१ पशु सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये ७२ भैँसी र ११ गाई मरिसकेका छन् । उनका अनुसार सङ्क्रमण बढ्दो क्रममा रहेको छ ।

केन्द्रले थप क्षति नहोस् भनेर सजकता अपनाएको जानकारी दिँदै उनले जिल्लाभरमा आठ हजार तीन सय गाईभैँसीलाई ‘लम्पी स्किन’ विरुद्धको खोप लगाइसकेको बताइन् । गोदावरी नगरपालिकामा मात्र पाँच हजार गाईभैँसीलाई खोप लगाएको छ भने यहाँ सङ्क्रमित सङ्ख्या दुई सय ९६ पुगेको छ ।

‘उपत्यकामा कूल सङ्क्रमित पशुको सङ्ख्या १२ हजार आठ सय ७३ पगेको छ’, डा.निशाले भनिन्, ‘गाईभैँसी सङ्क्रमणमुक्त एक हजार १७ छन् भने मर्नेको सङ्ख्या एक सय ७४ पुगेको छ ।’ उपत्यकाभरका १७ हजार नौ सय ८८ गाईभैँसीलाई खोप लगाइसकेको उनको भनाइ छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update