Public Pana
चिया कारखानाका ७० हजार श्रमिक सुविधाबाट वञ्चित

झापाका चिया कारखानामा काम गर्ने ७० हजार श्रमिक सुविधाबाट बञ्चित भएका छन् । श्रम ऐन २०७४ ले तोकेको ज्याला पाउनुपर्ने माग राखी चिया श्रमिक आन्दोलनमा छन् ।

सरकारले ऐन, कानुन बनाउने तर त्यसको कार्यन्वयनमा ध्यान नदिएको भन्दै श्रमिकहरू ज्याला वृद्धिको आन्दोलनमा उत्रिएका हुन् । झण्डै ७० हजार श्रमिक रहेको चिया कारखानाहरू रोजगारदाता कम्पनीमा सूचिकृत छैनन् । जसका कारण श्रमिकहरू सेवा सुविधाबाट वञ्चित छन् ।

सञ्चयकोष र उपदानवापत एक लाख १९ हजार रुपैयाँ पाउनुपर्ने श्रमिकले पाउन नसकेकोले आन्दोलनमा उत्रिएका हुन् । 
श्रम ऐन २०७४ मा प्रत्येक दुई वर्षमा ज्याला वृद्धि गर्ने उल्लेख छ । चौथो वर्ष सुरु हुँदासमेत ज्याला नबढेकाले आन्दोलन गर्नुपरेको श्रमिकको भनाइ छ ।

उत्पादक र श्रमिकबीच ज्याला वृद्धिको विषयमा पटकपटक वार्ता तथा छलफल भएको छ । तर सहमति जुटेको छैन । श्रमिक, दैनिक ९० रुपैयाँ बढाउनुपर्ने अडानमा छन् भने उत्पादक ३० रुपैयाँभन्दा बढी नसक्ने पक्षमा छन् । सहमतिबिना तोकिएको ज्याला मान्य नहुने उद्योगीको तर्क छ ।

सामाजिक सुरक्षा कोषले उद्योग र श्रमिक दुवै पक्षलाई फाइदा पुग्ने भए पनि चिया कारखानाहरू रोजगारदाता कम्पनीमा सूचिकृत नहुँदा समस्या भएको सरकारी निकायको जवाफ छ ।
श्रमिकको बढेको ज्याला साउन १ गते नै राजपत्रमा प्रकाशन हुनुपर्ने हो । तर प्रकाशन नभएकाले नै श्रमिक आन्दोलनमा छन् । 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ०८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update