Public Pana
एक दशक बित्दा पनि कार्यान्वयनमा आएन प्लास्टिक झोला प्रतिबन्ध

सरकारले वातावरण प्रदूषण न्यूनीकरण गर्न भन्दै २०७१ सालमै प्लाष्टिकका झोला प्रतिबन्ध गर्ने निर्णय गर्यो । त्यसअघि २०६८ सालमा पहिलो पटक प्लास्टिक झोला निर्देशिका जारी गरेको थियो भने २०७८ सालमा कार्ययोजना नै बनायो । तर अहिलेसम्म प्लास्टिकका झोला प्रतिबन्ध गर्ने निर्णय कार्यान्वयन भएको छैन ।

देशभर वार्षिक कति प्लास्टिकका झोला खपत हुन्छन् भन्ने यकिन तथ्यांक भने छैन । तर प्लास्टिक झोला उत्पादन गर्ने करिब १ सय ४० वटा उद्योग छन् । नेपालमा उत्पादित झोलाले मात्र नपुगेर आयातसमेत हुने गरेको छ । वार्षिक १० अर्ब रुपैयाँको प्लास्टिकका झोलाको कारोबार हुने प्लास्टिक उत्पादक संघले जनाएको छ ।

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७६-७७ मा एक वर्षभित्र काठमाडौंलाई प्लास्टिक मुक्त बनाउने घोषणा गरेको थियो । तर निर्णय कार्यान्वयन भएन । चार वर्षपछि आएर महानगरपालिकाले फेरि ४० माइक्रोनभन्दा कम मोटाइको प्लाष्टिक प्रयोग निषेध घोषणा गरेर अनुगमन थालेको छ ।

त्यसो त संघीय सरकारले २०७८ सालमा औद्योगिक कच्चा पदार्थ वा अर्ध तयारी कच्चा पदार्थबाहेक ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला प्रयोग रोक लगाउने कार्ययोजना कतै पनि पालना भएको छैन । पातलो प्लास्टिक झोलाले वातावरण र मानव स्वास्थ्यमा पर्ने प्रतिकूल असरबारे जनचेतना बढाउने तथा वातावरणमैत्री झोला प्रयोगमा सर्वसाधारणलाई प्रोत्साहन गर्ने सरकारी नीतिसमेत अलपत्र छ ।

काठमाडौं उपत्यकामा दैनिक करिब ५० लाख थान प्लास्टिकका झोला खपत हुने अनुमान छ । काठमाडौं महानगरपालिकाले गरेको एक अध्ययनले काठमाडौंमा ७५ दशमलव ५ प्रतिशत जैविक र २४ दशमलव ५ प्रतिशत नकुहिने फोहोर उत्पादन हुन्छ । नकुहिनेमा सबैभन्दा बढी ६ दशमलव ५ प्रतिशत प्लाष्टिकजन्य फोहोरको मात्रा छ । त्यसमा पनि आधा अर्थात् ३ दशमलव ८ प्रतिशत त प्लास्टिकको झोला हुने गरेका छ ।
निषेधित प्लास्टिकको प्रयोग वा बिक्री गरे वातावरण संरक्षण ऐनअनुसार ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । तर, निर्णय कार्यान्वयन गर्न सरकार उदासीन छ ।

४० माइक्रोन भन्दा कम मोटाइका प्लास्टिकका झोला पुन प्रशोधन नहुने र यो फोहोरका रुपमा फैलिन्छ। यसलाई कुहिन पनि धेरै समय लाग्ने भएकाले वातावरण प्रदूषणको मूख्य कारक हुने गरेको छ। प्लास्टिक प्रयोगबाट हुने वातावरण प्रदूषण र मानव स्वास्थ्यमा पार्ने प्रतिकूल प्रभावबारे प्रत्येक व्यक्ति सचेत नभएसम्म यसको प्रयोग न्यूनीकरण सम्भव नभएको विज्ञ बताउँछन् ।

jhola1691020589.jpg

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ०५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update