Public Pana
सुदूरपश्चिममा आज साँझ मन्त्री शपथ

सुदूरपश्चिम प्रदेश सरकारलाई आज पूर्णता दिने गरी तयारी गरिएको छ । प्रदेशमा दुई मन्त्री र १ राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको रोहबरमा सत्ता गठबन्धन घटक दल नागरिक उन्मुक्ति पार्टी र मुख्यमन्त्री कमलबहादुर शाहबीच भएको सहमति अनुसार मन्त्रिपरिषद्लाई पूर्णता दिन लागिएको बताइएको छ ।

नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले  आफूहरुले सरकारमा जाने मन्त्रीहरुको पुरानै नाम सदर गरेको बताए । उनका अनुसार नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र कैलाश चौधरीलाई सो मन्त्रालयको राज्यमन्त्रीको लागि सिफारिस गरिएको छ । यसअघि पनि रामेश्वर र कैलाशको नाम सिफारिस गरिएको हो ।

कांग्रेसले भने ४ बजे संसदीय दलको बैठक बोलाएको छ । उक्त बैठकबाट रिक्त रहेको आन्तरिक मामिला तथा कानुन मन्त्री टुंग्याउने कांग्रेसको तयारी छ । बैतडीबाट निर्वाचित सांसद शिवराज भट्टलाई कांग्रेसले मन्त्री बनाउने तयारी गरेको कांग्रेस स्रोतले बतायो ।

आज साँझ ७ बजे मन्त्रीहरुको शपथ ग्रहण गराइने बताइएको छ ।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update