Public Pana
नीति तथा कार्यक्रम र बजेट निर्माणमा ज्ञान र विवेक प्रयोग गर्ने व्यवस्था गरौँ  : प्रधानमन्त्री 

प्रधानमन्त्री तथा राष्ट्रिय योजना आयोगका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले राष्ट्रिय योजना आयोगको सोह्रौँ योजनाले समग्र अर्थतन्त्रमा गुणात्मक रूपान्तरण गर्नुपर्ने बताएका छन् ।

आज बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सोह्रौँ योजनाको अवधारणा तर्जुमा गर्न आयोजित राष्ट्रिय योजना आयोगको बैठकलाई दिशानिर्देश गर्दै उनले अहिलेसम्मका योजनाहरूले देशको आर्थिक विकास र सामाजिक रूपान्तरणमा के–कस्तो भूमिका खेलेका छन् भन्ने कुराको गहिरो समीक्षा आवश्यक रहेको उल्लेख गरे ।
बैठकमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रम र बजेट निर्माण प्रक्रिया परम्परागत र सीमित व्यक्तिको विवेकमा आधारित भएको बताउँदै यसमा व्यापक रूपान्तरण जरूरी रहेकोमा जोड दिए ।

प्रधानमन्त्रीले भने, “नीति तथा कार्यक्रम र बजेट निर्माणको हाम्रो संस्थागत, संरचनागत र कार्यशैलीगत रूपान्तरण जरूरी छ। नीति तथा कार्यक्रम र बजेट निर्माणको बीचमा एकदमै छोटो समय हुने, त्यसले गर्दा नीति तथा कार्यक्रम र बजेटबीच तादाम्यता नहुने समस्या हामीकहाँ छ । यसलाई बदल्नुपर्छ । नीति तथा कार्यक्रम प्रस्तुत गरी पारित भइसकेपछि त्यसमाथि व्यापक छलफल गरेपछि मात्रै बजेट निर्माणको काम थाल्नुपर्दछ । हतार हतारमा बजेट बनाउँदा नीति तथा कार्यक्रम एकाथरि बजेट अर्कोथरि बन्ने समस्याबाट हामी ग्रसित छौँ । त्यसैले यसलाई समेत सम्बोधन गर्नेगरि योजना बनाउनुस् ।”

प्रधानमन्त्रीले थपे, “नीति तथा कार्यक्रम र बजेट निर्माणको प्रक्रियामा पनि व्यापक रूपान्तरण आवश्यक छ । प्रस्तावको अल्पविराम र पूर्णविराम समेत परिवर्तन नहुने भएपछि संसदमा त्यति ठूलो छलफलको के अर्थ भन्ने प्रश्न पनि उठेको छ। नीति तथा कार्यक्रम र बजेट प्रस्ताव भइसकेपछि पनि त्यसमाथि छलफल गरेर संशोधन गर्न सकिने व्यवस्था आवश्यक छ । यसमा राज्य संयन्त्रको मात्र नभएर बाहिरका बुद्धिजीवीहरू र जनप्रतिनिधिहरूको ज्ञान र विवेक प्रयोग गर्नेगरि तयारी गर्नुस् ।”

प्रधानमन्त्रीले आवधिक योजना निर्माणको प्रक्रियामा समेत बाहिरको सुझाव लिने व्यवस्था गर्नुुपर्ने बताए । उनले भने, “राज्यले सबै प्रकारका नीति वा योजना प्रस्ताव गर्दा बाहिरको ज्ञान र विवेक उपयोग गर्नेतिर सोच्नुस्। सामूहिक विवेकको प्रयोग नगरी कुनै पनि प्रस्ताव सही र वैज्ञानिक बन्दैेन ।”

बैठकले सोह्रौँ योजनाको अवधारणा स्वीकृति गर्दै उक्त अवधारणालाई बृहत् रूपमा अन्तरक्रियामा लैजाने निर्णय गरेको छ ।

अवधारणामा सोह्रौँ योजनाको आवश्यकता, सोह्रौँ योजना तर्जुमाका आधारहरू, दीर्घकालीन सोच २१००, पन्ध्रौं योजनाको लक्ष्य र कार्यान्वयनको अवस्था, समष्टिगत आर्थिक परिसूचकको प्रगति समीक्षा, सोह्रौँ योजनाको कार्यदिशा, समष्टिगत रणनीति, संरचनागत रूपान्तरणका क्षेत्र लगायतका विषय समावेश छन् ।
 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update