Public Pana
असोजभित्र सिंहदरबारको प्रवलीकरण सक्न मन्त्री गुरुङको निर्देशन

सहरी विकासमन्त्री सीता गुरुङले देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पश्चिम खण्डको प्रवलीकरणको काम आगामी असोजभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पश्चिमी खण्डको प्रवलीकरणको कामको स्थलगत निरीक्षण गर्दै उहाँले आगामी तीन महिनाभित्र काम सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।

मन्त्री गुरुङले प्रवलीकरणमार्फत ऐतिहासिक सिंहदरबारलाई पुरानै संरचनामा निर्माण गर्नु सकारात्मक काम भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रवलीकरण निकै जटिल र संवेदनशील काम हो, पुरानो संरचनालाई जस्ताको तस्तै पुनःनिर्माण गर्नु चुनौती थियो, विभिन्न चुनौतीलाई सामना गरेर भए पनि सिंहदरबार अब पुरानै अवस्थामा ठडिएको छ ।” उहाँले बाँकी कामलाई छिटोभन्दा छिटो सम्पन्न गर्न निर्देशन दिँदै केही समस्या भए समाधान गर्न आफू तयार रहेको बताउनुभयो ।

मन्त्री गुरुङले भूकम्पले क्षति पुगेका घर तथा भवनलाई पनि प्रवलीकरण विधिमार्फत बलियो बनाउन सकिन्छ भन्ने सन्देश दिएको बताउनुभयो ।

देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारलाई प्रवलीकरण गरेर सञ्चालनमा ल्याउँदा आमनागरिकलाई पनि प्रवलीकरणप्रति विश्वास बढाउने मन्त्री गुरुङले विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  २२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update