Public Pana
थुनामुक्त माग गर्दै बालकृष्ण र टोपबहादुरको टोली उच्च अदालत पाटन

नक्कली शरणार्थी प्रकरणमा थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उच्च अदालत पाटनमा रिट परेको छ ।

तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, यो प्रकरणका विचौलिया केशव दुलालसहित थुनामा रहेका अभियुक्तहरु उच्च अदालत पुगेका हुन् । 

उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले थुनामा पुगेका प्रतिवादीहरुले जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध रिट निवेदन दिएको बताए । 

उनीहरुको रिट निवेदनमाथि अब एक सातापछि पेसी तोकिने छ । 

यो प्रकरणमा सुरुमा पक्राउ परेका १८ जनामध्ये १६ जनालाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले गत असार १ गते थुनामा पठाउने आदेश दिएका थिए । 

तर यो मुद्दामा त्यसबेला ललितपुरकी लक्ष्मी महर्जन ५ लाख र होटल व्यवसायी टंक गुरुङ १० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए ।

बाँकी १६ जनालाई केन्द्री कारागार सुन्धारामा चलान गरिएको छ ।

त्यसपछि यही प्रकरणमा पक्राउ परेका अभियुक्त केशव तुलाधर असार ३१ गते १५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई असार २८ गते पक्राउ गरेको थियो।

जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलाशले थुनछेक बहसपछि उनीसँग १५ लाख धरौटी माग्ने आदेश दिएको थियो । 

यो प्रकरणमा मुद्दा दायर गरेकामध्ये ११ जना अझै फरार छन् ।
 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update