Public Pana
कञ्चनपुर  क्षेत्र नं २ मा कांग्रेस र एमालेका उम्मेदवार बीच प्रतिस्पर्धा

कञ्चनपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका नारायणप्रकाश (एनपी) साउद र नेकपा (एमाले)का नरबहादुर धामीबीचमा नै  प्रतिस्पर्धा हुनेभएको छ । लोकतान्त्रिक–वाम गठबन्धनबाट चुनावमा प्रतिस्पर्धा गरिरहनु भएका साउद र एमालेबाट उम्मेदवार रहनुभएका धामीबीच तेस्रोपटक चुनावी प्रतिस्पर्धा भइरहेको छ ।

गठबन्धन भएका कारण चुनावी प्रतिस्पर्धामा विजयी हुनेमा साउद ढुक्क हुनुहुन्छ । उहाँले विकास निर्माणका कुरालाई चुनावी मुद्दाका रूपमा अघि सार्नुभएको छ ।  चुनावी प्रचारका क्रममा उहाँ आफूले सांसद नभएर पनि गरेको विकासका चर्चा सुनाउन पछि पर्नुहुन्न । उहाँले सिँचाइमन्त्री भएर कार्य गरिसक्नुभएको छ ।

“विगतका निर्वाचनमा एमाले र नेकपा (माओवादी केन्द्र) बीच गठबन्धन हुँदा २४ हजार बढी मत ल्याएर पनि जित्न सकेनौँ”, उहाँले भन्नुभयो, “यसपटक गठबन्धन भएकाले माओवादी केन्द्रको मत जुटे जित सम्भव छ ।” दुवै पार्टीबीचका विगतका कटुताका कुरा इतिहास भइसकेकाले गठबन्धनको मर्मअनुसार मत पाउनेमा उहाँ विश्वस्त हुनुहुन्छ ।

एमालेका पाँच वर्षअघि चुनावमा विजयी भएका उम्मेदवारले विकासका नाममा सिन्कोसमेत भाँच्न नसकेको उहाँको आरोप छ । “पाँच वर्षअघि मैले सुरु गरेका योजनासमेत पूरा हुनसकेका छैनन्”, उहाँले भन्नुभयो, “सांसद नभएर पनि तटबन्ध निर्माणका लागि रु १० करोडका योजना चालु आवमै ल्याएको छु ।”

जनताले पत्याउने गरी काम गरिरहेको उहाँको भनाइ छ । साउद र धामी विद्यार्थी पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेर पहिचान बनाउन सफल भएका हुन् । दुवै जना यस निर्वाचन क्षेत्रका सशक्त प्रतिस्पर्धीका रूपमा छन् ।

एमालेका तर्फबाट चुनावी मैदानमा रहनुभएका धामीको मतदाताबीच फरक किसिमको पहिचान छ । स्पष्ट वक्ताका रूपमा परिचित रहनुभएका उहाँ यस क्षेत्रको विकास निर्माण, निकुञ्ज विस्थापित, सुकुम्बासीका मुद्दा संसद्मा बारम्बार उठाउनेमा पर्नुहुन्छ । शुक्लाफाँटा प्राविधिक शिक्षालय स्थापना, सडक कालोपत्र, तटबन्ध निर्माणलगायतका विकासका मुद्दालाई उहाँले चुनावीसभामा सुनाउँदै आउनुभएको छ ।

“मुक्त कमैया, मुक्त हलियाका १४ शिविर यसै निर्वाचन क्षेत्रमा पर्दछन्”, उहाँले भन्नुभयो, “शिविरमा बसोबास गर्दै आएका व्यक्तिको मुख्य समस्याका रूपमा नदी कटान, डुबानसँगै रोजगारीको छ, निर्वाचनमा विजयी भए ती कार्य पूरा गर्छौँ ।”

“प्राविधिक शिक्षालयका भौतिक संरचना निर्माण गर्नका लागि रु पाँच करोड ५० लाख बजेट विनियोजन भएको छ, प्राविधिकतर्फका विभिन्न विधामा पढाइ गराउने गरी कार्य गरेकाले यसकै आधारमा मत पाउने उहाँले उल्लेख गर्नुभयो ।

“रैकवार विचवामा मात्रै चारवटा पक्की पुल निर्माणकार्य अगाडि बढेको छ, निकुञ्ज विस्थापितलाई १० कठ्ठा जग्गा वा रु ६० लाख मुआब्जा उपलब्ध गराउने नेकपा नेतृत्वको सरकारका बेला गठन भएको आयोगको सिफारिस कार्यान्वयन गराउने चुनावी मुख्य मुद्दाका रूपमा रहेको छ”, उहाँले भन्नुभयो ।

प्रत्येक स्थानीय तहमा १५ शय्याको अस्पताल निर्माण गर्ने, विद्यालयलाई प्रविधिमैत्री बनाउने, जनता आवास कार्यक्रमअन्तर्गत विपन्नका घर निर्माण गर्नेलाई समेत उहाँले चुनावी मुद्दाका रुपमा अघि सार्नुभएको छ । जनताको बीचमै रहेर कार्य गर्दै आएकाले गत चुनावको नतिजा दोहो¥याउने उहाँ दाबी गर्नुहुन्छ ।

विसं २०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच गठबन्धन हुँदा धामीले ३३ हजार दुई सय २० मत ल्याएर विजयी हुनुभएको थियो । उहाँका प्रतिस्पर्धी साउदले २४ हजार आठ सय ३९ मत ल्याएर पराजय भोग्नुपरेको थियो । विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा साउदले धामीलाई पराजित गरेका थिए । यस निर्वाचन क्षेत्रमा तीनवटा नगरपालिका ३० वडा पर्दछन् । निर्वाचन क्षेत्रमा पहाडी र थारू समुदायको बसोबास छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update