Public Pana
चामल महंगो भएकाले बजार अनुगमन तीव्र 

भारतबाट आयातमा रोक लागेपछि नेपालमा चामल महंगो भएको छ । जसका कारण सर्वसाधारण मारमा परेका छन् ।

भारतको उक्त निर्णय लगत्तै व्यापारीले नेपालमा प्रतिकिलो १२ रुपैयाँदेखि प्रतिबोरा २०० रुपैयाँसम्म चामल महंगो भएको छ । 

जनतालाई मारमा नपार्नका लागि अब भोली मंगलबारदेखि बजार अनुगमन तिब्र पारिने भएको छ ।

अनुगमन कार्यान्वयनका लागि आज सोमबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चामलका होलसेल व्यापारीसँग छलफल समेत गरेको जनाएको छ । 

विभागले होलसेल व्यापारी बोलाएर चामलको मूल्य बढ्नुको कारण खोज्ने प्रयास स्वरूप छलफल गरेको भन्दै अनुगमनका लागि थे्रड दिएको हो । 

छलफलमा विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले व्यापारीले चामलको मूल्य बढाउन थालेपछि आज छलफल गरेको बताए । 

बढेको धान आयात गरेर उत्पादन गरिएको चामल बजारमा नआइसकेकोले तत्कालै मुल्य बढ्न नहुने ठाकुरले दाबी गरे । उनले सोही कारण, विभागले बजार अनुगमनलाई तीव्रता दिने निर्णय भएको समेत जानकारी दिए । 

छलफलमा व्यापारीले भारतमा धानको मूल्य बढेकाले आयातित धानबाट उत्पादित चामलको मूल्य बढेको गुनासो गरेका थिए । 
 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update