Public Pana
दुई अभिनेत्री सहकारीलाई कारबाही माग गर्दै धर्ना

सहकारीमा फसेको रकम उठाइदिन र ठगी गर्ने सहकारीलाई कारवाहीको माग गर्दै दुई पाका अभिनेत्रीहरु बसुन्धरा भुसाल र चैत्यदेवी माइतीघर मण्डलामा दशघण्टे अनसनमा बसेका छन् ।

सहकारी पीडितले ६१ दिनदेखि माइतीघरमा जारी रहेको धर्नामा नेपाली फिल्मका दुई वरिष्ठ अभिनेत्रीहरु पनि आज सोमबार सहभागी भएका हुन् । सोमबार राति १० बजेसम्म उनीहरुले धर्ना दिने कार्यक्रम छ ।

घरखर्च चलाउन समेत मुश्किल परेको भन्दै उनीहरुले कुरा गरिरहँदा आँखामा आँसु बगाएका थिए । अभिनेत्री चैत्यदेवीले आफूले माग्दा पनि रकम नपाएको गुनासो गरिन् ।

फसेको रकम झिक्न पहल गर्न भन्दै बसुन्धरा, चैत्यदेवी र भुवन चन्दले प्रधानमन्त्रीदेखि दलका शीर्ष नेताहरुलाई भेटिसकेका छन् । तर कहींबाट पहल नभएपछि आफूहरु धर्नामा बस्न बाध्य भएको उनीहरुले जनाएका छन् ।

चैत्यदेवी र बसुन्धराका आफन्त र परिवारको १४ जना सदस्यले जम्मा गरेको दुई करोड ६० लाख रुपैयाँ फसेको जनाइएको छ ।

साथै, सामाजिक संस्था भुवन चैत्य बसुन्धरा फाउण्डेसनको नामबाट सिभिल सहकारीमा जम्मा गरिएको १५ लाख रुपैयाँ समेत फसेको उनीहरुको भनाइ छ ।
 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update