Public Pana
आफ्ना  माग राख्दै सत्याग्रहमा लाग्ने डा.केसीको अल्टिमेटम

प्राध्यापक डा. गोविन्द केसीले चिकित्सा शिक्षा ऐनविपरीत प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले गरेको निर्णय सच्याउन आज सोमबार अल्टिमेटम दिएका छन् ।

सीटीईभीटीको सिट निर्धारण र विद्यार्थी भर्नासम्बन्धी अवैध निर्णय खारेज गर्न, दोषी पदाधिकारीलाई बर्खास्त गर्न तथा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष नियुक्तिका लागि एक हप्ताभित्र सिफारिस समिति बनाउन र हालका उपाध्यक्षको पदावधि सकिनुअगावै छनोटको प्रक्रिया टुंग्याएर आयोग एक दिन पनि नेतृत्वविहीन नहुने गरी नियुक्ति गर्न सरकारलाई उनले अल्टिमेटम दिएका हुन् । 

पत्रकार सम्मेलन गर्दै डा.केसीले आफ्ना मागहरू पूरा नभए साउन २९ गतेदेखि सत्याग्रह सुरु गर्ने चेतावनी समेत दिएका छन् ।

शुल्क बढाउनेसम्बन्धी सीटीईभीटीको निर्णय पनि खारेज गर्न उनले माग राखेका छन् । सीटीईभीटीले एचए, फार्मेसी र नर्सिङको शिक्षण शुल्क वृद्धि गरेको थियो । चौतर्फी विरोधपछि शुल्क वृद्धिको निर्णय स्थगित गरेको छ । 

२०७९ असोज ८ गते तथा विगतमा भएका सम्झौताहरू कार्यान्वयन गर्न उनले ताकेता गरेका छन् । 
 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update