Public Pana
श्रावण १५ आज खीर दिवस

श्रावण १५ गते आज नेपाली समाजमा खीर खाएर मनाउने चलन छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा, श्रावण १५ मा खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवा खाने प्राचीनकालदेखिको नेपाली चलन छ ।

श्रावणे झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको धार्मिक परम्परा रहेको हो ।
दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । 

संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रुपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराईको भनाइ छ । 

वस्तवमा भन्ने हो भने, यही श्रावण महिनामा खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ। राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खीर खाने गरिन्छ ।

तर यो वर्ष वर्षाले पहिरो बाढी गएकाले रोपाईमा पनि असर परेको छ ।

श्रावण भगवान् शिवको महिना भएकाले शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ । 

ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो। अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात् खीर बनाउँछन् । 

चामल, साबुदाना, सेवइ, मकै, गाजर लगायतको खीर बनाउने गरिन्छ। साबुदाना–सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ । खीर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास छ । 

नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरेको छ ।

दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । बोर्डको २०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।


 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ०७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update