Public Pana
फिफा महिला विश्वकपमा मोरक्कोको ऐतिहासिक जित 

मोरक्कोले फिफा महिला विश्वकपमा ऐतिहासिक जित हात पारेको छ । न्युजिल्यान्ड र अस्ट्रेलियामा जारी विश्वकपमार्फत डेब्यु गरेको मोरक्कोले आज आइतबार भएको खेलमा दक्षिण कोरियालाई एक–शून्य गोलले पराजित गरेको हो ।

एडिलेडमा मोरक्कोले खेल सुरु भएको छैटौं मिनेटमै गोल गरेको थियो । इब्तिसाम जेराडीले हेडर गोल गर्दै टिमलाई अग्रता दिलाएकी हुन् । महिला विश्वकपमा मोरक्कोका लागि गोल गर्ने उनी पहिलो खेलाडी पनि बनिन् । एसियाली राष्ट्र कोरियाले १४ र २६औं मिनेटमा गोल फर्काउने प्रयास गरेको थियो ।

बल पोसेसनमा अघि देखिए पनि कोरियाले मोरक्कोको डिफेन्स तोड्न सकेन । जसका कारण दक्षिण कोरिया फिफा वरीयताको ७२औं स्थानमा रहेको मोरक्कोसँग स्तब्ध हुन पुग्यो । यो महत्त्वपूर्ण जितपछि मोरक्कोले नकआउट चरण पुग्ने सम्भावनालाई जीवितै राखेको छ । पहिलो खेलमा मोरक्को जर्मनीसँग ६–० गोलको पराजित भएको थियो ।

ठूलो अन्तरको हार बेहोरेपछिको खेलमा भने मोरक्कोले पुनरागमन गर्यो । दक्षिण कोरियाको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा कोलम्बियाले दक्षिण कोरियालाई दुई–शून्य गोलले पराजित गरेको थियो ।

मोरक्को डिफेन्डर नुहालिया बेनिजा हिजाब लगाएर मैदान उत्रिएकी थिइन् । जारी विश्वकपमा हिजाब लगाएर खेल्ने उनी पहिलो खेलाडी हुन् । फिफाले सन् २०१४ देखि धार्मिक आस्थाका कारण हिजाब लगाउन अनुमति दिएको हो ।
 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update