Public Pana
कलाकार सारुक ताम्राकारको मोबाइलमा भेटियो सुसाइड नोट

रातोपुलस्थित घरमा मृत फेला परेका कलाकार सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट फेला परेको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि पठाइएको मोबाइलको ‘नोट्स’मा उनले मृत्यु हुनुअघि लेखेको विवरण फेला परेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका स्रोतका अनुसार, ताम्रकारले नोटमा आफूलाई विवादमा नपार्न पनि भनेका छन् ।
उनले साथीहरु र परिवारलाई पनि सम्झिँदै सबै गल्ती आफ्नै भएको बताएका छन् ।

‘इट्स अल माई फल्ट, कसैलाई ब्लेम नगर्नु’, उनको नोटलाई उधृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘यो सबै यहीँ इन्ड हुनु थियो, सो सकियो । लेट मि रेष्ट इन पिस, धन्यवाद ।’

प्रहरीका अनुसार, उनले आमा र बुबालाई सम्बोधन गर्दै फेरि यही परिवारमा जन्मिन पाउँ समेत भनेका छन् । ‘उहाँले लेखेको विवरणमा कसैलाई आक्षेप लगाइएको छैन, बुबाआमादेखि साथी सर्कलहरुलाई सम्झिइएको छ’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने ।

ताम्राकार २१ असारमा घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए । लगत्तै उनको मोबाइललाई जाँचका लागि पठाइएको थियो । प्रहरी वृत्त, मालीगाउँमा उनी मृत भेटिएको भन्दै २१ असारको राति ११ बजे खबर पुगेको थियो ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टमपछि परिवारले शव बुझेर अन्त्येष्टि गरेको थियो । तर, त्यहीबीचमा नेपाल चलचित्र कलाकार संघले विज्ञप्ति निकालेर ताम्राकार मृत्युको विषयमा गम्भीर अभिव्यक्तिहरु बाहिर आएकाले त्यसबारे छानबिन गर्न माग गरेको थियो ।

ताम्राकारकी साथी २०११ की मिस नेपाल मलिना जोशीले के कारण उनले आत्महत्या गरेका हुन् भन्दै केही प्रश्नहरु उठाएकी थिइन् ।
 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update