Public Pana
सुन तस्करी नियन्त्रणमा संसदीय समिति अघि बढ्नुपर्ने नेताको भनाइ 

सुन तस्करी नियन्त्रणमा संसदीय समिति अघि बढ्नुपर्ने नेताहरुले आफ्नो भनाइ राखेका छन् ।

राष्ट्रिय सभाका सांसदहरुले सुन तस्करी नियन्त्रणमा संसद र संसदीय समितिहरुले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याएका हुन् । 

राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको आज शुक्रबारको बैठकमा सत्तारुढ नेपाली कांग्रेसका राष्ट्रिय सभाका सांसद कृष्णप्रसाद पौडेल, जनता समाजवाद पार्टी, नेपाल सांसद मृगेन्द्रकुमार सिंह यादवलगायत सांसदहरुले सुन तस्करी, ललिता निवासलगायतका भ्रष्टाचार काण्डहरुको तथ्य पत्तालगाई बाहिर ल्याउन संसद् र संसदीय समितिहरुले कडा कदम चाल्नुपर्ने बताए ।

यता, सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले मौद्रिक नीति र वित्तीय नीतिमा तालमेल नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरे । 

उनले नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीति वित्तीय नीतिसँग तालमेल नहुनु मुलुकका लागि गम्भीर विषय भएको उल्लेख गर्दै त्यस विषयमा सम्बन्धित पक्षसँग संसद् र संसदीय समितिले छलफल गर्नुपर्ने धारणा राखे ।

‘अलि पहिलादेखि एउटा समस्याका रुपमा रहेको यो मौद्रिक नीति र वित्तीय नीति जो छ । वित्तीय नीतिको पूरक भएर आउनुपर्ने मौद्रिक नीति । त्यसले एउटा गम्भीर समस्या देखापरेको देखिन्छ,’ उनले भने, ‘यी दुवै पक्षका सरोकारवालाहरुलाई बोलाएर छलफल गर्नुपर्छ ।

किनभने यो सुशासनसँग जोडिन्छ । एउटा कार्यक्रम यो राख्नुपर्छ ।’ सांसद शर्माले विभिन्न आयोजनामा भ्रष्टाचार मौलाएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकारले विशेष ध्यान दिनुपर्ने सुझाए ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  २१:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update