Public Pana
हिक्मत कार्की गएनन् मुख्यमन्त्रीको कार्यालय

सर्वोच्चको अदालतले उद्धव थापाको नियुक्ति अवैध ठहर गर्दै रद्द गरिदिएपछि कामचलाउ मुख्यमन्त्रीमा फर्किएको भनिएका हिक्मतकुमार कार्की मुख्यमन्त्रीको कार्यालयमा गएनन् । 

केही दिनदेखि काठमाडौंमै रहेका उनी आज शुक्रबार बिहान १० बजे बिराटनगर झरेका थिए । त्यहाँबाट उनी मुख्यमन्त्रीको कार्यालय जाने योजनामा थिए । 

उनी बिराटनगर विमानस्थलमा अवतरण भएपछि मुख्यमन्त्रीको कार्यालयले केही सुविधा उपलब्ध नगराएको र सरकारी गाडी तथा सुरक्षाकर्मी पनि उपस्थित नभएकाले नगएको भनिएको छ ।

सर्वोच्चको पूर्ण इजालसले गत असार २१ गते मुख्यमन्त्री बनेका उद्धव थापाको नियुक्ति रद्द गरिदिएसँगै यही साउन १७ गतेभित्र नयाँ सरकार गठन गर्न भनेको छ । 

अदालतको आदेशअनुसार हिक्मत कार्की अबको सात दिनलाई पुरानै काम चलाउ अवस्थामा फर्किएको जिकिर कानुनविद्हरुले गरेका थिए । 

तर, सर्वोच्चको आदेशपछि प्रदेश प्रमुख परशुराम खापुङले पनि मुख्यमन्त्रीको कार्यालयलाई कुनै पत्र नपठाइदिएपछि कर्मचारीमा अलमल देखिएको हो । 
मुख्यमन्त्री कार्यालयले आज शुक्रबार पनि आफ्नो बोर्ड र वेबसाइटमा मुख्यमन्त्रीमा उद्धव थापालाई यथावत राखेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update