Public Pana
राष्ट्र बैंकको भन्दा ठूलो सुन गाल्ने मेसिन चिनियाँ नागरिक लिनको गोदाममा 

हङकङबाट आएको सय किलो सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक जिक्वाङ लिनको काठमाडौंस्थित गोदाममा सुन गाल्ने ठूलो मेसिन फेला परेको छ ।

राजस्व अनुसन्धान विभागको टोलीले बालुवाटारस्थित उनको गोदाममा छापा मार्दा सुन गाल्ने मेसिन फेला परेको हो ।
विभागका अनुसार उनको गोदाममा फेला परेको मेसिन राष्ट्र बैंकसँग रहेको भन्दा बढी क्षमताको छ। लिन एक वर्षदेखि नेपालमा कम्पनी खोलेर बसिरहेका छन् । 

उनले यसअघि पनि तस्करीको सुन भित्र्याएको र त्यही गोदाममा गालेर बेचेको आशंका राजस्वले गरेको छ । उनको नाममा नेपालमा ल्यान्ड एण्ड ओसियन इन्टरनेशनल लजिस्टिक प्राइभेट लिमिटेड सञ्चालनमा थियो ।

‘लिनको गोदाममा सुन गाल्ने मेसिनसहितका सामाग्री बरामद भएका छन् । जुन राष्ट्र बैंकसँग भएको भन्दा ठूलो र बढी क्षमताको छ,’ राजस्व स्रोतले भन्यो, ‘राष्ट्र बैंकले हामीले बरामद गरेको सुन गाल्न एकैदिनमा सक्दैन। तर चिनियाँको मेसिनले छिट्टै गालिसक्ने रहेछ ।’ 

राजस्व विभागको टोलीले विमानस्थलबाट ट्याक्सीमा बाहिर लैजाँदै गरेको अवस्थामा ब्रेक शुभित्र लुकाइएको करिब सय किलो सुन बरामद गरेको थियो ।

उक्त ट्याक्सीमा लैजाँदै गरेको सामान चिनियाँको गोदाममा लैजान लागिएको बयानपछि राजस्वले गोदाममा छापा मारेको हो ।

गोदामबाट थप सामान बरामद भएको थियो। तर ती सामानभित्र सुन रहे नरहेको खुलाइएको छैन ।
 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ००:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update