Public Pana
विद्युतीय व्यापार विधेयक व्यावसायी मैत्री नभएको सांसदबाटै गुनासो

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिका सांसदहरुले विद्युतीय व्यापार विधेयक व्यावसायी मैत्री नभएको गुनासो गरेका छन् ।

विद्युतीय व्यापार विधेयकले व्यावसाय प्रवद्र्धन गर्न नसक्ने सांसदहरुले विद्युतीय व्यापार विधेयकको सैद्धान्तिक छलफलको क्रममा बताएका हुन् ।

सांसद डा. विमला राई पौडयालले व्यावसायलाई प्रवद्र्धन गरेर व्यवस्थित रुपमा नियम गर्नु पर्ने बताइन् । विधेयकले विद्युतीय व्यापरलाई संरक्षण गर्नु पर्नेमा उपभोक्ता मैत्री भएको उनको भनाई छ ।

‘अहिले उपभोक्ता देखि उपभोक्त, उत्पादक देखि उपभोक्ता, प्लेटफर्म मार्फत कारोबार भइरहेको छ,’ उनले भनिन्, ‘यस्तो अवस्थामा विधेयक ठिक हुने खालको छैन ।’ साना र मझौला खालका लागि छुट्टै प्लेटफर्म र सूची दर्ताको व्यवस्था गर्न उनको माग छ ।

सांसद जितेन्द्र नारायण देवले विद्युतीय व्यापार विधेयकले ईकमर्शको नियमन, व्यवस्थापन र विश्वसनियताको विषय उठान गरेर पनि उनीहरुलाई प्रवद्र्धन र सहजता प्रदान गर्नु पर्ने बताए ।

प्रतिस्पर्धाको समयमा साना मझौला उद्योगलाई प्रोत्साहन गर्नु गरेर क्रेता, विक्रेता, मध्यस्थाकर्ता उपभोक्ता मैत्री हुने पर्नेमा उनको जोड छ ।

सांसद देवेन्द्र दाहालले विधेयकले केलाई नियमन र व्यवस्थित गर्न खोजेको हो त्यो स्पष्ट रुपमा आउनु पर्ने बताए। अन्य निकायमा नियम अनुसार दर्ता भएर टिकटक, फेसबुकमा देखाएर सामान बिक्री गर्नेलाई पनि नियमन गर्न खोजिएको हो भनेर उनले प्रश्न गरे ।

सांसद भागवती न्यौपानेले विधेयकमा व्यक्तिगत खरिदको विषय मात्र आएको र संस्थागत खरिद नसमेटिएको बताइन् ।
व्यावसायमा उपभोक्ताका साथै निर्मात, उत्पादक, बिक्रेता, क्रेता सबै महत्वपूर्ण हुने भएकाले विद्युतीय व्यापार विधेयक व्यवस्थित, विश्वसनिय, उपलब्धी मुलुक र फलदायक हुनु पर्नेमा सांसद सुरेशकुमार आलेमगरको जोड छ ।

समितिका सभापति जयन्तीदेवी राईले विद्युतीय व्यापारबाट बढी मात्रामा उपभोक्ता मर्कामा परेकाले उपभोक्तालाई विशेष ध्यान दिनुपर्ने बताउँदै विधेयक तीनै तहबीच समन्वयन र सन्तुलित किसिमको हुनुपर्ने बताइन् ।

सभापति राईले डिजिटल प्रविधिले माग गरेको विधेयकमाथि सरोकारवाला, उपभोक्ता प्रतिनिधि, विज्ञसहित छलफल गरी समितिले दफाबार, विस्तृत छलफल गर्ने जानकारी दिइन् ।
 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  २०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update