Public Pana
कांग्रेस महासमिति बैठक मंसिर ११ देखि १३ सम्म गर्ने निर्णय

नेपाली कांग्रेसले यही मंसिर ११ देखि १३ सम्म महासमिति बैठक बोलाउने निर्णय गरेको छ। कांग्रेसले नीति अधिवेशनका लागि आवश्यक काम गर्नका लागि महासमिति बैठक बोलाउने निर्णय गरेको महामन्त्री विश्‍वप्रकाश शर्माले जानकारी दिए।

कांग्रेसको साउन २ गतेदेखि बसेको केन्द्रीय कार्यसमिति बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक यथाशीध्र पारित गर्न सरकारको ध्यानाकर्षण पनि गराएको छ। संसद्‌मा दर्ता भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक यथाशीघ्र पारित गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको हो।

यसैबीच, नेपाली कांग्रेसले गत निर्वाचनमा बागी उम्मेदवारी दिएर निर्वाचित भएका १४ जनाको कारबाही फुकुवा गरेको छ। केन्द्रीय कार्यसमिति बैठकले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध बागी उठेर जितेका १४ जना नेताको कारबाही फुकुवा गरेको हो ।


कांग्रेसले बागी उम्मेदवारी दिएर प्रदेशसभा सदस्य निर्वाचनमा विजयी भएका जंगीलाल राय, देवेन्द्रबहादुर शाही र नवराज शाहीको कारबाही फुकुवा गरेको छ। त्यस्तै, जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा निर्वाचित भएका राजुसिंह कठायत र धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार शाहसहितको कारबाही फुकुवा भएको छ।


प्रल्हादकुमार क्षत्री, तारादेवी महतो, भोला खड्का, राम यादव, विजयकुमार महतो, विदेश्वर शाह, रूकुम तामाङ र लक्ष्मण सिंहको कारबाही फुकुवा भएको हो।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update