Public Pana
सानुभाइलाई १० हजार धरौटीमा छाड्न अदालतको आदेश

प्रहरीले हत्कडीसहित ठमेल घुमाएका गुण्डा नाइकेका रुपमा चिनिने सानुभाइ उर्फ युवराज गुरुङलाई १० हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले अभद्र व्यवहारको कसूरमा उनलाई १० हजार रुपैयाँ धरौटी राखेर छाड्न आदेश दिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका डीएसपी अनिल अधिकारीले बताए । उनका अनुसार, अदालतले छाड्न आदेश दिए पनि उनले पुरानो मुद्दामा कैद भुक्तान गर्न बाँकी रहेको देखिएकाले कारागार पठाइएको छ ।
उनी काठमाडौं–२६, ठमेलस्थित क्लब ओम्नियामा गएर सञ्चालक राजेन्द्र गुरुङसहित अरु कर्मचारीहरुलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका थिए ।

उनका समूहका अरु ६ जनालाई मंगलबार नै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ८ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

अदालतको आदेशपछि एउटै कसूरमा पक्राउ परेका रघु तामाङ, विनोद तामाङ, कमल तामाङ, निरु भनिने निरज गुरुङ, विश्व तामाङ र विक्रम अधिकारी मंगलबारै छुटेका छन् । डीएसपी अधिकारीका अनुसार, सानुभाइ अभद्र व्यवहारमा पटकपटक पक्राउ परिसकेका व्यक्ति भएका उनको मुद्दा अदालतमा पेश गरिएको हो ।
१५ असारमा क्लब बसिरहेका बेला आफूमाथि राति २ बजे कुटपिट भएको भन्दै सञ्चालक गुरुङले प्रहरी कहाँ किटानी जाहेरी दिएका थिए । भर्खरै सञ्चालन गरेको क्लबमा गुरुङले विभिन्न नाममा रकम माग्दै धम्क्याउने गरेको उनको आरोप थियो ।

प्रहरीका अनुसार, सानुभाइ कुनै समय गुण्डा नाइके कुमार घैंटेको समूहमा सक्रिय रहेको प्रहरी बताउँछ । घैंटे प्रहरी मुठभेडमा ३ भदौ २०७२ मा मारिएपछि उनी ‘बुलेट प्रुफ ज्याकेट’ लगाएर हिँड्न थालेका थिए ।
 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update