Public Pana
सर्लाहीमा एक इन्स्पेक्टर मृत भेटिए

सर्लाहीमा राष्ट्रिय अनुसन्धान विभागका एकजना अनुसन्धान अधिकृत (इन्स्पेक्टर) मृत भेटिएका छन् । प्रहरीले उनको शव सर्लाहीको ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा भेट्टाएको हो । 

सर्लाही प्रहरीका अनुसार ईश्वरपुर नगरपालिका–६, बयलवास बजार निवासी २९ वर्षीय वसन्त साह फूलजोर–त्रिभुवननगर सडकखण्डअन्तर्गत खोरिया टोलनजिकैको कल्भर्टमुनि आज बुधबार बिहान मृत भेटिएका हुन् ।

घटनास्थलमा उनले प्रयोग गर्ने बागमती प्रदेश ०२–०१६ प ००७१ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

राष्ट्रिय अनुसन्धानका अनुसन्धान निरीक्षक २९ वर्षीय साहको मृत्यु भएको पुष्टि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले गरे ।

साह राष्ट्रिय अनुसन्धान कार्यालय मलङ्गवामा कार्यरत थिए। हिजो मंगलबार कार्यालयको काम सकेर घर आउँदै गर्दा उनी दुर्घटनामा परेको अनुमान गरिएको छ ।

घटनाबारे अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियार थारूले जानकारी दिए। 

साह कार्यालयबाट हिजो मंगलबार साँझ ६ बजेर ४५ मिनेटमा निस्किएका थिए । उनले राति पौने १० बजे परिवारलाई सम्पर्क गरेर केहीबेरमा खान खान आइपुग्ने बताएका थिए । 

प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा पठाइसकेको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update