Public Pana
पानीमा डुबेर वार्षिक औसत ३९६ जनाको मृत्यु

नेपालमा वार्षिक औसतमा ३९६ जनाको पानीमा डुबेर ज्यान जाने गरेको छ । जसमध्ये ५३.७ प्रतिशत २५ वर्षमुनिको समूहमा हुने गरेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकमा छ ।

प्राधिकरणका अनुसार अधिकांश घटना पौडी खेल्ने क्रममा, नुहाउने क्रममा, खोला-नदी तर्ने क्रममा एवं आत्महत्याका कारण हुने गरेको छ । नेपालमा असारदेखि असोज महिनामा पानीमा डुबेर वा पानीजन्य विपत्का कारण धेरैको ज्यान जाने गरेको छ ।

पानीमा डुब्नबाट रोकथामका लागि विश्व दिवसका अवसरमा राजधानीमा मंगलबार आयोजित डुबी हुने मृत्युको अवस्था एवं प्रभावकारी रोकथामका उपायहरुबारे छलफल कार्यक्रमका सहभागीहरुले पानीमा डुबेर हुने मृत्युलगायत घटना रोकथामका लागि जनचेतनामा जोड दिनुपर्ने आवश्यकता औंल्याएका छन् । कार्यक्रममा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक डम्बरबहादुर विकले स्थानीय तहहरुले बजेटको सानो हिस्सा भए पनि छुट्याएर जनचेतनाको कार्यक्रमहरु गर्दा पानीमा डुबेर हुने मृत्युलगायत घटना न्यूनीकरण गर्न मद्दत मिल्ने धारणा राखे ।

pani-1690286003.jpg

यसैबीच, विश्व स्वास्थ्य संगठनको नेपाल कार्यालयका डा. केदार मरहट्टाले लुप्त तर धेरै नै मानवीय क्षति गर्ने समस्या भएकाले प्रभावकारी जनचेतना हुन सक्दा बालबालिकाको डुबेर हुने मृत्युलाई ८० प्रतिशतसम्म रोक्न सकिने दाबी गरे । सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारीले सडक दुर्घटनासँगै नदीमा खस्ने र डुबेर मृत्यु हुने घटना पनि बढेको तथ्यांक राख्दै हाल देशका आठ स्थानमा उपकरणसहित गोताखोर जनशक्ति राखिएको जानकारी पनि दिए ।

युनिसेफका आपतकालीन विज्ञ सुनीता कायस्थले पानीबाट सुरक्षित हुने आधारभूत जानकारी हुँदा पनि बालबालिकालाई सुरक्षित राख्न सकिने दाबी गरिन् । नेपाल रेडक्रस सोसाइटीको जनशक्ति विकास विभागका प्रमुख

कृष्ण घिमिरेले पानीमा डुबेका व्यक्तिलाई जोगाउन प्राथमिक उपचारसम्बन्धी ज्ञान महत्त्वपूर्ण हुने उल्लेख गरे ।
नेपाल पौडी संघका सचिव एवं राष्ट्रिय पौडी प्रशिक्षक ईश्वर कार्कीले पौडी खेल्ने सीप हासिल गर्दा पानीमा परिहाले पनि उत्रन सकिने धारणा राख्दै पौडिन सक्ने सीपको महत्त्वबारे सञ्चारमाध्यमले पनि प्रचारप्रसार गर्न मद्दत गर्नुपर्ने धारणा राखे ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव रुद्रसिंह तामाङले पानीमा डुबेर हुने मृत्युलगायत घटना रोकथामका लागि सचेतना बढाउने भन्दै प्रतिबद्धता जनाए ।
acccc1690286026.jpg

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update