Public Pana
चीनमा जिमखानाको छत भत्किँदा ११ जनाको मृत्यु

उत्तरपूर्वी चीनमा भारी वर्षाका कारण विद्यालयको व्यायामशालाको छत भत्किँदा ११ जनाको मृत्यु भएको छ ।
सरकारी सञ्जारमाध्यमकाअनुसार जिम रहेको भवनको छत भत्किँदा १९ जना भित्रै फसेका छन् ।

उक्त दुर्घटनामा पर्नेहरु अधिकांश बालबालिका रहेका प्रत्यक्षदर्शीले जनाएका छन् । यद्यपि, यसको आधिकारिक रुपमा पुष्टि हुन बाँकी छ ।

यो घटनापछि प्रहरीले औद्योगिक हेलोङजियाङ प्रान्तको क्विहार सहरमा रहेको उक्त भवनको इन्चार्जलाई पक्राउ गरेको छ ।

अधिकारीहरुकाअनुसार भवनको छत भत्किँदा चारजना भने भाग्न सफल भएका छन् । भग्नावशेषबाट निकालिएका १५ जनामध्ये चार जना मात्रै बाँचेका छन् ।

छानबिनमा संलग्न अधिकारीहरुले जिम रहेको भवनको छत वर्षाको पानीले भरिएर भिजेको र स्थानीय समयअनुसार आइतबार दिउँसो ३ बजे उक्त घटना भएको जनाएका छन् ।

चीनमा निर्माण सम्बन्धी दुर्घटना हुनु सामान्य जस्तै हो । यसको पछाडि सुरक्षा मापदण्डमा लापरबाही र कार्यान्वयन पक्ष कमजोर हुनु मुख्य कारक रहेको बताइन्छ ।
 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update