Public Pana
केपी ओलीले पर्यवेक्षण गरेको कम्बोडियाको निर्वाचन

दक्षिणपूर्वी एशियाको पूर्वकम्युनिस्ट राष्ट्र कम्बोडियामा संसदीय निर्वाचनको मतगणना सुरु भएको छ ।

रोचक त के छ भने त्यहाँको चुनावको अवलोकन गर्ने नेपालबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसमेत निम्त्याइएका छन् ।

कम्बोडियाको संसदका सबै १२५ वटै सिटमा प्रधानमन्त्री हुन सेनको दल विजयी हुने पूर्वानुमान गरिएको छ । त्यहाँको निर्वाचनको निष्पक्षतामाथि पश्चिमा मुलुकले प्रश्न उठाएका छन् । हिजो आइतबार सम्पन्न विवादास्पद निर्वाचनको मतगणना सुरु भएको छ ।

करिब ९७ लाख मतदाता रहेकोमा ७८ दशमलव तीन प्रतिशत मत खसेको राष्ट्रिय निर्वाचन समितिले जनाएको छ । 
प्रमुख प्रतिपक्षी दलमाथि प्रतिबन्ध लगाइएकाले यो निर्वाचन दशकौं यताकै सबैभन्दा कम स्वतन्त्र निर्वाचन भएको आलोचकहरुले टिप्पणी गरेका छन् ।

अमेरिकासहितका पश्चिमा मुलुकहरुले यो चुनावको निष्पक्षतामै प्रश्न उठाएका छन् । सत्ताधारी दललाई चुनौती दिने बलियो प्रतिपक्ष नरहेकाले निर्वाचनमा प्रधानमन्त्री हुन्–सेनको दल कम्बोडियन पिपुल्स पार्टी–सीपीपीले नै सबै १ सय २५ सिट जित्ने अनुमान गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

निर्वाचनमा अन्य १७ वटा साना दल सहभागी छन् । प्रमुख विपक्षी दल ‘द क्याण्डल लाइट पार्टी’लाई अयोग्य घोषित गर्दै निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाइएका कारण सत्ताधारी दल सीपीपीका लागि यो निर्वाचन एकपक्षीय बन्न पुगेको हो ।

यो निर्वाचनको पर्यवेक्षण गर्न पश्चिमा देशबाट भने कसैलाई निम्त्याइएको छैन ।

कम्बोडियाको भ्रमणमा रहेका नेकपा एमालेका अध्यक्ष ओली त्यहाँको सातौं राष्ट्रिय व्यवस्थापिका निर्वाचनको पर्यवेक्षण गरेर आज सोमबार स्वदेश फर्कँदैछन् ।
 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  ०६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update