Public Pana
के कांग्रेसले गर्ला निर्वाचन प्रणाली परिवर्तन ? 

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा निर्वाचन प्रणाली परिवर्तन, संघीयता र धर्मनिरपेक्षता खारेजका विषय उठेको छ । पाँच दिनदेखि जारी बैठकमा उठेको विषयले कांग्रेसले निर्वाचन प्रणालीमा परिवर्तन ल्याउला ? प्रश्न उठेको छ ।

साउन २ गतेदखि सुरु भएको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले आआफ्नो धारणा राखेका छन् ।
त्यस क्रममा बोल्ने कतिपयले हालको मिश्रित निर्वाचन प्रणाली हटाएर प्रत्यक्ष निर्वाचनमै सबै जाति, क्षेत्र समुदायको प्रतिनिधित्व हुने व्यवस्था गर्नुपर्ने, संघीय संसद सदस्यको संख्या घटाउनुपर्ने, संघीयताको विकल्प खोज्नुपर्ने र धर्म निरपेक्षता खारेज गर्नुपर्ने विचार राखेका छन् ।

बैठकमा सांसद सदस्य घटाउनुपर्ने विषय केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रवेश गराए । उनले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद संख्या घटाउनुपर्ने र त्यसका लागि संविधान संशोधनको अगुवाइ कांग्रेसले गर्नुपर्ने उनले धारणा राखे ।

समावेशीताका आधारमा प्रतिनिधि सभा २०१ सदस्यीय बनाउने र सबै प्रत्यक्ष निर्वाचित हुनुपर्ने उनको मत छ । त्यस्तै राष्ट्रियसभा सदस्यको संख्या पनि ३५ मा झार्नुपर्ने पौडेलले बताए । हाल प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचित र ११० जना समानुपातिक प्रणालीबाट निर्वाचित गरी २७५ सदस्यीय छ । त्यस्तै राष्ट्रियसभा भने ५९ सदस्यीय रहेको छ ।
नेता शेखर कोइराला र मिनेन्द्र रिजालले पनि निर्वाचन प्रणालीका विषयमा कांग्रेसभित्र छलफल आवश्यक रहेको बताए । केन्द्रीय सदस्य कोइरालाले प्रत्यक्ष निर्वाचन प्रणाली भित्रैबाट समानुपातिक र समावेशीको सुनिश्चितता गर्नुपर्ने भन्दै यसको पहल कांग्रेसले लिनुपर्ने बताए ।

nepali  congress1689641833.jpg

केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले निर्वाचन प्रणालीमा गम्भीर छलफल आवश्यक रहेको बताए । प्रतिनिधिसभा प्रतिनिधिमूलक हुन सकेन भनेर मिश्रित निर्वाचन प्रणाली लागू गरिएको भन्दै उनले अहिलेको प्रतिनिधिमूलक चरित्र कायम राखेर नै प्रतिनिधिसभालाई २१० वा २१५ सम्म झार्न सकिने बताए ।

केन्द्रीय सदस्य शंकर भण्डारीले भने धर्मनिरपेक्ष, संघीयता र निर्वाचन प्रणालीका विषयमा पुनर्विचार गर्नुपर्ने धारणा राखे । २०४७ सालको संविधान पनि नेपाली कांग्रेसको नेतृत्वमा बनेको र २०७२ सालको संविधान पनि कांग्रेसकै नेतृत्वमा बनेको भन्दै भण्डारीले २०४७ मा जस्तो अहिलेको संविधानको स्वामित्व लिन नसकिने बताए ।
भण्डारीले संघीयतामा पनि समस्या देखिएको भन्दै विकल्प खोज्नुपर्ने मत राखे । ‘संघीय संरचनामा धेरै असन्तुष्टि देखियो । राष्ट्रिय सुरक्षाका हिसाबले पनि समस्या देखियो त्यसैले संघीयताको अर्को विकल्प खोज्नुपर्छ । निर्वाचन प्रणालीका बारेमा पनि पुनर्विचार गर्नुपर्छ’, उनले भने ।

भण्डारीलाई समर्थन गर्दै केन्द्रीय सदस्य चन्द्रबहादुर केसी र भीम पराजुलीले पनि हिन्दु राष्ट्रको पक्षमा धारणा राखे । पराजुलीले ९४ प्रतिशत ओमकार परिवार रहेकाले धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्मको पक्षमा कांग्रेस उभिनुपर्ने बताए । ‘कांग्रेसले धर्म र संस्कृति विभाग छुट्टै गठन गर्नुपर्दछ’ उनले भने । केन्द्रीय सदस्य चन्द्रबहादुर केसी धार्मिक स्वतन्त्रता सहितको सनातन वैदिक राष्ट्रको पक्षमा पार्टी देखिनुपर्ने मत राखे ।
 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  २०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update