उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकार बिपी कोइरालाबाट प्रेरित भएर लोभ र डरबाट मुक्त भई देश र जनताको पक्षमा काम गरिरहेको बताएका छन् ।
बिपी स्मृति दिवसका अवसरमा आज शनिबार बिपी संग्रहालय सुन्दरी जलमा आयोजितलाई समारोहलाई सम्बोधन गर्दै उनले संविधानमा सुनिश्चित गरिएका नागरिकका सबै अधिकार र सामाजिक न्यायका कामहरू बिपी कोइरालाको सिद्धान्त अनुरूप भएको बताए ।
बिपी कोइरालाले नागरिकलाई अधिकार सम्पन्न बनाउन बेला बेलामा कठोर निर्णय लिने गरेको स्मरण गर्दै खड्काले अहिले आफुहरूले पनि कुनै कठिन राजनीतिक निर्णय गर्दा होस वा पार्टी र सरकार सञ्चालन गर्दा बिपी कोइरालालाई सम्झेर निर्णय गर्ने गरेको जानकारी दिए ।
बिपी कोइरालाको सिद्धान्त अनुरूपनै अहिलेको संविधानले नागरिकका धेरै अधिकार सुरक्षित गरेको र अब सरकार र राजनीतिक शक्तिहरूले जनतामा थप विश्वास जगाउने गरी काम गर्न सके बिपीप्रति सच्चा सम्मान एवम् श्रद्धाञ्जली हुने उपप्रधानमन्त्री खड्काको भनाइ थियो ।