Public Pana
देशभरिका सबै विद्यालयमा यो वर्षभित्र इन्टरनेट पुर्याइने :  सञ्चारमन्त्री शर्मा


सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चालु आर्थिक वर्षभित्र देशभरिका सबै विद्यालयमा गुणस्तरीय इन्टरनेट सेवा पुर्याउने तयारी गरिएको बताएकी छन् ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, प्रदेश मधेशले बाराको सिमरामा आयोजना गरेको टेलिकमको सेवा प्रवाह र सुधारसम्बन्धी छलफललाई सम्बोधन गर्दै उनले शिक्षालाई प्रविधियुक्त बनाउन देशभरिका सबै विद्यालयमा गुणस्तरीय इन्टरनेट पुर्याउने तयारी गरिएको बताईन् ।

धेरै विद्यालयमा इन्टरनेट सुविधा पुगेको र बाँकी विद्यालय तथा सबै वडासम्म चालु आर्थिक वर्षभित्र इन्टरनेट पुर्याउने गरी तयारी गरिएको मन्त्री शर्माले बताईन ।

आफूले मन्त्रीको पद वहाली गर्दा राजमार्गलाई पूर्ण दूरसञ्चारयुक्त बनाउने पहिलो निर्णय गरेको जानकारी दिंदै उनले यो निर्णय कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताईन् ।

चालु आर्थिक वर्षमा हरेक प्रदेशका दुई जिल्लालाई पूर्ण दूरसञ्चानयुक्त जिल्ला बनाउने सरकारले निर्णय गरिसकेकाले यो निर्णय प्रभावकारीरुपमा कार्यान्वयन गर्न मन्त्री शर्माले नेपाल टेलिकमलाई आग्रह गरिन् ।

पूर्वाधार निर्माणका क्रममा सरकारी नियकायबिच समन्वय नहुँदा समस्या आउने गरेको उल्लेख गर्दै उनले सडक, खानेपानी, विद्युत, दूरसञ्चारका पूर्वाधार निर्माणमा समन्वयमा ध्यान दिन आग्रह गरिन ।
जंगल तथा निकुञ्ज क्षेत्रमा टेलिफोन अप्टिकल विस्तार र टावर निर्माणमा समस्या भएको गुनासो आएको वन मन्त्रालयसँग समन्वय गर्ने काम भइरहेको पनि मन्त्री शर्माले जानकारी दिईन ।

उनले जहाँ बढी समस्या छ, त्यहाँ बढी सेवा दिनुपर्ने मान्यताका समस्या पहिचान गरी समाधानको खोजी गर्न मधेश प्रदेशबाट दूरसञ्चारको समस्या समाधानका लागि सुझाव संकलन अभियान सुरु गरिएको जानकारी दिईन् ।

मधेश प्रदेशका बासिन्दाले देशको अर्थतन्त्रमा ठूलो योगदान गरिरहेको उल्लेख गर्दै मन्त्री शर्माले  देशकै सबैभन्दा धेरै जनसंख्या रहेको मधेश प्रदेशमा नेपाल टेलिकमले सेवाग्राही विस्तारका लागि प्रभावकारी अभियान चलाउनुपर्नेमा जोड दिईन् ।

कार्यक्रममा बारा, पर्सा, रौटहट र सर्लाहीका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पालिका प्रमुख तथा प्रतिनिधिहरुले आफ्नो क्षेत्रमा भएको टेलिकमको सेवा सुविधाबारे जानकारी गराउँदै सुधारका लागि सुझाव दिएका थिए । 
मर्मत संभारलाई विशेष सेवाको रुपमा विकास गर्ने टेलिकमको प्रतिबद्धताः नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले कम्पनीले भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्न यस आर्थिक वर्ष २०८०-८१ मा मर्मत संभार कार्यलाई विशेष सेवाको रुपमा विकास गर्न आवश्यक रणनीति तथा कार्यक्रमहरु तयार गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताए ।

उनले मधेश प्रदेशका कुल ५५० भन्दा बढी स्थानबाट कम्पनीले जीएसएम प्रविधिको सेवा उपलब्ध गराइरहेको र विभिन्न स्थानबाट एफटीटीएच वितरण गरिरहेको जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update