Public Pana
धौलीगंगा बाँध खोलिएपछि महाकालीमा पानीको बहाव 

महाकालीमा नदीमा आज शनिबार बिहानैदेखि पानीको सतह बढेको छ । गएरातिको वर्षा र भारतले धौलीगंगा बाँध खोल्दा महाकालीमा पानीको सतह बढेको स्थानीय प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार २ दिन अघि बुधबार सूचना प्रकाशित गरी आज शनिबार बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँधका ढोका खोलिने भारतीय पक्षले जानकारी दिएको थियो । भारतीय प्रशासनले सिल्ट सरसफाइ गर्ने भन्दै नेपाली प्रशासनलाई जानकारी पठाएको थियो ।

भारतको उत्तराखण्डमा पर्ने धौलीगंगा जलविद्युत् परियोजनाको सिल्ट सरसफाइका लागि बाँधको ढोका खोलिएपछि महाकाली नदी किनारका बस्तीका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

धौलीगंगा बाधको ढोका खोलेपछि व्याँस गाउँपालिका–५ स्थित स्याकु गाउँको मुनिबाट महाकाली नदीमा मिसिने हुनाले त्यहाँदेखि तल लालीसम्मको तटीय क्षेत्रका स्थानीयमा नदीमा पानी बढ्ने बित्तिकै त्रास छाउने गर्छ ।

बिहानैदेखि पानीको सतह बढेपछि नदीले कटान गर्ने हुँदा तटीय क्षेत्रका बासिन्दा त्रसित भएका छन् । महाकाली नगरपालिका–१ र दुहु गाउँपालिका–३ को श्रीबगर बस्तीको मुनि कटान भइरहेको स्थानीयले जनाएका छन् ।

भारतले योभन्दा पहिले गत असार २६ गते बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँधका ढोका खोलेको थियो । त्यसबेला नदी किनारका बस्ती नजिक कटान गरेको थियो । भारतले वर्षातको समयमा बेला–बेला बाँधका ढोकाहरु खोल्दै आएको छ ।

mahakali1690003929.jpg

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update