Public Pana
इटहरीमा दुर्घटना ३ जनाको मृत्यु

इटहरीमा चारजना चढेको मोटरसाइकल पिकअपसँग ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीकाअनुसार हिजो शुक्रबार राति करिब ११ बजेतिर इटहरी १७ कान्छी चौकस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो ।

पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बरको डब्लु बी ७३ ई ९११७ को पिकअपसँग पश्चिमबाट पूर्व आउँदै गरेको को २९ प ३७१२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा चढेका चारैजना घाइते भएका थिए । उनीहरुलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उपचारका क्रममा इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानका २७ वर्षीय शम्भु चौधरी, २४ वर्षीय अनिनेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २७ वर्षीय प्रेमलाल चौधरी सिकिस्त घाइते भएका छन् । उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update