Public Pana
समितिका सभापति चयनको प्रक्रिया अघि नबढेको भन्दै सांसद्हरूको रोष

संसदीय समितिका सभापति चयनको प्रक्रिया अघि नबढेको भन्दै सांसद्हरूले रोष प्रकट गरेका छन् ।

कानुन, न्याय तथा मानव अधिकार समितिमा बोल्दै सांसदहरूले सभापति चयन हुन नसक्दा समितिमा उठेका कुराको अपनत्व हुन नसकेको बताएका हुन् । 

जनता समाजवादी पार्टीकी सांसद रञ्जु झाले सभापति चयन नहुँदासम्म समितिको बैठकै बस्न बन्द गनुपर्ने धारणा राखिन् ।

‘समितिको सभापति चयन नभएर धेरै समस्या भयो, किन ढिलो भयो? हाम्रा पूर्वसभामुखलाई थाहा होला, समिति सभापति नभएसम्म बैठक बन्द गर्दिऊँ, लिगेसी भएन, हामीले सभापतिलाई भन्थ्यौं,’ उनले भनिन् ।

सभामुखले कार्यतालिका ननिकाल्ने हो भने समिति आफैंले सभापति चयनको प्रक्रिया थाल्नुपर्ने उनले धारणा राखिन् ।
यस्तै, धारणा कांग्रेसका सांसद सुनील शर्माको पनि थियो। उनले समितिको सभापति कसले बनाउने नै थाहा नभएको भन्दै कटाक्ष गरेका थिए ।

‘हामी संसदमा आउँछौं, समितिको सभापति कसले बनाउँछ थाहा छैन! हामी असक्षम भएजस्तो देखियौं, त्यसैले एउटा समय तोकेर सभापति चयन गरौं,’ उनको सुझाव थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले पनि समितिको सभापति चयनमा पहल थाल्न ढिला भइसकेको बताइन् ।
‘समिति सभापति किन चयन भएन? हामी सबैले मानेको सुवास नेम्वाङ यहीँ हुनुहुन्छ, तपाईंले सभापतिको लागि पहल गर्नुपरो, तपाईंले नै समन्वय गर्नुपर्छ,’ उनले भनिन् ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूले बारम्बार कुरा उठाएको बताए ।
‘मैले जानकारी पाएअनुसार असारभित्र सभापति चयन गरिसक्ने कुरा थियो। भनिएको पनि हो,’ उनले भने, ‘समितिले जति सक्दो चाँडो सभापति पाउनुपर्छ ।’

उनले समितिका सदस्यले सभापति चयनबारे चर्को आवाज उठाउनुपर्ने बताए 
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सभामुखले सभापति चयनमा तदारूकता देखाउँदा पनि किन विलम्ब भइराखेको छ भनेर आफूले बुझ्न नसकेको बताए ।

‘हामीले समिति सभापति चयन नगरेको विषय जोडतोडले उठाउनुपर्छ, सभामुखले समेत यो विषय उठाउनु भएको छ तर किन भइरहेको छैन?,’ उनले भने ।

 

 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update