Public Pana
काठमाडौंको फोहोर विसर्जनमा अवरोध कायमै 

ककनी गाउँपालिका र धुनिबेसी नगरपालिकाका स्थानीयको अवरोधका कारण काठमाडौं उपत्यकाका फोहोर आज शुक्रबार पनि विसर्जन हुन सकेको छैन ।

काठमाडौं उपत्यकाका १८ वटा स्थानीय तहबाट दैनिक ११ सयदेखि १३ सय मेट्रिक टन फोहोर बञ्चरेडाँडामा विसर्जन हुने गरेको छ । 

यसअघिको सम्झौता कार्यान्वयन नभएको र फोहोरसँगै बस्न नसकिने भन्दै साउन १ गतेदेखि स्थानीयवासी आन्दोलित छन्। जसका कारण काठमाडौंको फोहोर विसर्जन हुन नसकेको बञ्चरेडाँडाका स्थानियले बताएका छन् ।

अस्ति बुधबार सहरी विकास मन्त्रालयमा प्रभावित क्षेत्रका स्थानीयसँग वार्ता पनि भएको थियो ।
सो दिनको समझदारीअनुरूप अहिले बञ्चरेडाँडा दीर्घकालीन ल्यान्डफिल साइटको फोहोर पुर्ने काम भइरहेको काठमाडौं महानगरपालिकाका फोहोर व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए ।

शहरी विकास मन्त्रालयमा भएको छलफलअनुसार फोहोरलाई १५ सेन्टिमिटर माटोले पुर्ने काम भइरहेको छ । 
त्यस्तै प्रभावित क्षेत्रको अध्ययनका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको समूह पनि सिसडोल–बञ्चरेडाँडा क्षेत्र हिजो बिहिबार पुगेका थिए ।

Banchare dada1671709770.jpg

बञ्चरेडाँडामा विसर्जनमा अवरोध भएपछि काठमाडौ उपत्यकामा ६ हजार ५ सय मेट्रिक टनभन्दा बढी फोहोर थुप्रिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update