Public Pana
फिफा महिला विश्वकपमा आज तीन खेल हुँदै

अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकपमा आज शुक्रबार तीन खेल हुँदै छन् ।

मेलबर्नमा भइरहेको समूह–बीको खेलमा नाइजेरिया र क्यानडा आमने–सामने छन् । 
क्यानडालाई पनि उपाधिको दाबेदार मध्ये एक टिमका रूपमा हेरिएको छ । 

सन् २०२० को टोकियो ओलम्पिकको स्वर्ण विजेता क्यानडाले पहिलो विश्वकप बाहेक सबैमा सहभागिता जनाउँदै आएको छ । पछिल्लो समय क्यानडाको महिला टिम मैदान बाहिरको गतिविधिका कारण बढी चर्चामा छ । 
महिला खेलाडी समान पारिश्रमिकको माग गर्दै आन्दोलनरत छन् ।

क्यानडाको विश्वकपमा उच्च प्रदर्शन भनेको २००३ मा सेमिफाइनल खेल्नु हो । नाइजेरिया एघार पटकको अफ्रिकन कप अफ नेशन्स विजेता हो । दुवै टिम आजको पहिलो खेलमा तीन अंक जोड्न चाहन्छन् ।

समूह–ए को अर्को खेलमा फिलिपिन्स र स्विटजरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । 
फिलिपिन्स, विश्वकपको डेब्यु खेल स्मरणीय बनाउने लक्ष्यसहित मैदान उत्रनेछ । २०१५ मा डेब्यु गरेको स्विस टिमको यो केवल दोस्रो विश्वकप हो । चार वर्ष अघि उ छनोटमै असफल भएको  थियो  । 

आजको तेस्रो खेलमा समूह–सी मा रहेको स्पेनले कोस्टारिकाको सामना गर्नेछ । लामो समय चोटका कारण मैदान बाहिर रहेकी स्पेनिस स्ट्राइकर एलेक्सिया पुटियास टिममा फर्किएकी छन् ।

२०१५ को डेब्यु विश्वकपमा समूह चरणबाटै बाहिरिएको स्पेन चार वर्ष अघि अन्तिम १६ सम्म पुगेको थियो । 
आठ वर्ष पछि विश्वकपमा फर्किएको कोस्टारिका पहिलो पटक नकआउट पुग्ने लक्ष्यमा छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ०९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update