Public Pana
मुलुकमा बालबालिका सम्बन्धी काम गर्ने ६७५ वटा संस्था

बालबालिकासम्बन्धीको समाचारको कभरेज बढाउनुपर्नेमा राजधानीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

बालबालिकाको क्षेत्रमा कृयाशिल संस्था चाइल्ड नेपालले सेभ द चिल्ड्रेनको सहकार्यमा नेपाली आमसञ्चारमा बाल संवेदनशीलताको अवस्था सम्बन्धी अन्तरक्रियामा उक्त कुरामा जोड दिइएको हो । कार्यक्रममा नेपाली आमसञ्चारमा बाल संवेदनशीलताको अवस्था सम्बन्धी विभिन्न विज्ञहरूसंग छलफल गर्दै संयुक्त राष्ट्रसङ्घीय बालअधिकार महासन्धि समितिमा नागरिक समाजद्वारा प्रस्तुत गरिने प्रतिवेदन हस्तान्तरण गरेको छ । 

प्रतिवेदन हस्तान्तरणका क्रममा चाइल्ड नेपालका अध्यक्ष डा कृष्ण सुबेदीले सन् २०१३ मा सात वटा बालबालिका सम्बन्धी काम गर्ने संस्था मिलेर यूएन कमिटीमा रिपोर्ट पठाएको सम्झना गरे । हाल ६७५ वटा संस्थाले बालबालिका सम्बन्धी काम गरिरहेको उनले जानकारी गराए । उनले प्रत्यक २ वर्षमा नागरिक समाजकातर्फबाट यूएन कमिटीमा बालबालिका सम्बन्धी रिपोर्ट तयार गरेर प्रतिवेदन दिनुपर्ने बताउँदै हाल १८ वटा बालबालिका सम्बन्धी काम गरिरहेका संस्था मिलेर प्रतिवेदन हस्तान्तरण गरेको जनाए ।

कार्यक्रममा बिशेष अतिथि सञ्चारविज्ञ डा कुन्दन अर्यालले नेपाली आमसञ्चारमा आगामी दिनमा बालबालिकासम्बन्धी कभरेज बढाउनुपर्नेमा जोड दिए । यसका लागि पत्रकारहरुबीच बालअधिकारकाबारेमा जानकारी बढाउन आवश्यक ज्ञान, सीप र नैतीक पक्ष, वैचारिक आदानप्रदान, क्षमता अभिवृद्धिका लागि छलफलको क्रम अझ बढाउनुपर्ने बताए । उनले बाल अधिकारकर्मी र विज्ञहरुको विचार आलेख तयारी गरी सञ्चारमाध्यमलाई उपलब्ध गराएर सार्वजनिक वृत्तमा बालबालिकाका सवाललाई मुखरित गर्नुपर्ने बताए । उनले नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल र राष्ट्रिय बाल अधिकार परिषदबीच बालमैत्री मिडिया कभरेजको सारभूत रुपमा अभिवृद्धि गर्न समन्वय र सहकार्य हुन जरुरी रहेको पनि बताए । 

 

bal-2-ok1689909992.jpg

उनले अखवारमा प्रकाशित सामग्रीका २ प्रतिशत मात्र पूर्णतः बालबालिकामा केन्द्रीत भएको अध्ययनले देखाएको बताए । केन्द्रीकृत छलफल (देशका सबै प्रदेशको प्रतिनिधित्व हुनेगरी बालअधिकारकर्मी र विज्ञ) गरी अनलाइनका समाचारमा पनि विचार आलेख, सम्पादकीय तथा अन्तरवार्ताको गुणात्मक तथा परिमाणात्मक पक्षको अध्ययन गरी बढाउन सकिने उनको भनाई थियो ।

कार्यक्रममा बिशेष अतिथि बरिष्ठ पत्रकार तथा राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले बालबालिकामा केन्द्रीत समाचार मिडियामा स्थान दिएको हुनाले अखवारमा प्रकाशित सामग्रीका २ प्रतिशत मात्र नहुनु पर्ने बताए । उनले सञ्चारमाध्यमले बालबालिका सम्बन्धी मात्र समाचार हेर्ने पत्रकारको व्यवस्था गर्नुपर्ने बताए । साथै बालअधिकारकर्मिहरूले बालबालिका सम्बन्धी मात्र समाचार लेख्ने पत्रकारलाई संगठन गर्नुपर्ने बताए । उनले बालबालिका सम्बन्धी कलम चलाइरहेका अधिकारकर्मी तथा लेखकका सामाग्री (बिचार, आलेख, समाचार)लाई राससले स्थान दिने प्रतिवद्धता जनाए ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update