Public Pana
सुन तस्करीमा पक्राउ पर्नेको संख्या ८ पुग्यो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर भित्रिएको कम्तीमा एक क्वीन्टल सुन बरामद प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।

प्रकरणमा यसअघि ६ जना पक्राउ परेका थिए ।

आज बिहीबार थप दुई जना पक्राउ परेसँगै यो प्रकरणमा नियन्त्रणमा पुगेकाको संख्या ८ पुगेको हो ।
राजश्व अनुसन्धान विभागको टोलीले सुनसहित मोटरसाइकल र स्कुटरको ‘ब्रेक सु’ नेपाल ल्याउने कार्गो कम्पनीका दुई सञ्चालकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्कर भट्ट र एलिस ट्रान्स गु्रपका सञ्चालक राजन श्रेष्ठ छन् ।
आफ्नो कुरियरबाट आएको सामानमा सुन भेटिएको थाहा पाएपछि भट्ट आफैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पुगेका थिए ।

त्यसक्रममा त्यहीँबाट उनलाई राजश्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको हो । 

दुईवटा कुरियरबाट हङकङमार्फत क्याथे प्यासिफिकको उडानमा सुनसहितको ब्रेक सु नेपाल आएको थियो । स्रोतका अनुसार, हङकङमा रहेको क्लियरिङ एजेन्टले ‘अटो पार्ट्स’ भनेर सामान पठाएका थिए ।

31689846282.jpg

क्याथे एयरलाइन्सले पनि ‘एयर विल’मा ती सामग्री ‘अटो पार्ट्स’ भएको उल्लेख गरेको छ ।

विभागका अनुसार, सामान चिनियाँ नगारिकले पठाएको पाइएको छ । उनको वी च्याट नम्बर पनि विभागले प्राप्त गरेको छ । अहिले त्यो वी च्याटको नम्बर नै बन्द आइरहेको छ, कार्गोका एजेन्टसँग कुरा गरेर पत्ता लगाउने कोसिस विभागको छ । 

राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट बाहिरिएको झण्डै १०० क्वीन्टल सुन बरामद गरेको थियो ।

पक्राउ पर्नेमा ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, कम्पनीका सञ्चालक भोजपुरका दिलिप भुजेल, उनका मामा दोलखाका रामकुमार भुजेल, भोजपुरका हर्कराज राई र तिब्बती मुलका भारतीय नागरिक थाप्तेन छिरिङ छन् । 
 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  २१:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update