Public Pana
एसिया कप क्रिकेटको तालिका सार्वजनिक, उद्घाटन खेलमा नेपालको प्रतिद्वन्द्वी पाकिस्तान

एसिया कप क्रिकेट प्रतियोगिता–२०२३ को तालिका सार्वजनिक भएको छ।

पाकिस्तान र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्ने प्रतियोगिता अगस्त ३० देखि सेप्टेम्बर १७ सम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमै नेपालले सह–आयोजक पाकिस्तानसँग खेल्नेछ । एक दिवसीय फर्म्याटमा खेलिने प्रतियोगिताको उद्घाटन खेल ३० अगस्तमा मुल्तानमा खेलिनेछ ।

एसीसी मेन्स प्रिमियर कपको विजेता बन्दै नेपालले एसिया कपमा आफ्नो स्थान पक्का गरेको थियो । नेपाल प्रतियोगिताको समूह ‘ए’ मा भारत र पाकिस्तानसँग छ ।

समूह ‘बी’ मा बंगलादेश, अफगानिस्तान र श्रीलंका छन् ।

नेपालले आफ्नो दोस्रो खेल भारतसँग सेप्टेम्बर ४ मा खेल्नेछ । समूहमा ‘ए’ कै बहुप्रतिक्षित भारत र पाकिस्तानबीचको खेल भने सेप्टेम्बर २ मा श्रीलंकाको क्यान्डीमा हुनेछ ।

समूह चरणका ६ खेलपछि सुपर फोरको चरण हुनेछ । शीर्ष दुई राष्ट्रबीच प्रतियोगिताको फाइनल सेप्टेम्बर १७ मा हुनेछ ।
 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update