
चलचित्र विकास बोर्डले आर्थिक वर्ष २०७९-८० मा नेपालमा प्रदर्शन भएका नेपाली तथा विदेशी फिल्महरुको ग्रस बक्स अफिस कलेक्शन रिपोर्ट सार्वजनिक गरेको छ ।
बोर्डले एक सूचना जारी गर्दै ग्रस कलेक्शनसँगै प्रदर्शन प्रारम्भ भएको मिति तथा टिकट बिक्री सङ्ख्यासहितको विवरण सार्वजनिक गरेको हो ।
नेपाली फिल्मतर्फ २०७९ फागुन १९ मा रिलिज भएको ‘छक्का पञ्जा–४’ ले सर्वाधिक १७ करोड ५२ लाख ९९ हजार १ सय ५९ रुपैयाँ ग्रस कलेक्शन गरेको छ भने सबैभन्दा कम २०७९ भदौ ३१ गते प्रदर्शनमा आएको फिल्म ‘सिवानी’ ले मात्र पाँच सय बीस रुपैयाँ कलेक्शन गरेको छ ।
विदेशी फिल्मतर्फ भारतीय फिल्म ‘पठान’ ले १३ करोड अट्ठाईस लाख आठ सय दश रुपैयाँ कलेक्शन गरेको छ । सबैभन्दा कम भोजपुरी फिल्म ‘रिश्तो का बटवरा’ ले दुई हजार एक सय साठी रुपैयाँ कलेक्शन गरेको छ ।
गत आर्थिक वर्षमा ५७ वटा स्वदेशी फिल्महरु प्रदर्शनमा आएका थिए ।
स्वदेशी फिल्महरूको २७ लाख १६ हजार २ सय १७ थान टिकट बिक्रिसहित जम्मा ग्रस व्यापार ७६ करोड ७२ लाख ५७ हजार १ रुपैयाँ भएको छ ।
गत आर्थिक वर्ष नेपालमा ७८ वटा विदेशी फिल्महरू नेपालमा प्रदर्शन भएका छन् । ती फिल्महरुको २५ लाख ८५ हजार ६०२ थान टिकट बिक्रिसहित जम्मा ग्रस व्यापार ७९ करोड ४३ लाख ४ हजार ७ सय ४८ रुपैयाँ ७० पैसा भएको छ ।
प्रदर्शनरत दुई नेपाली फिल्महरु ‘बगान’ तथा ‘जारी’ तथा दुई विदेशी फिल्महरुको गत आर्थिक वर्षको अन्तिम दिन २०८० असार ३१ गते सम्मको रिपोर्ट समावेश गरिएको छ ।