Public Pana
सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ असोज १ बाट सञ्चालन पक्का

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संघिय राजधानी काठमाडौं उपत्यकामा सार्वजनिक ‘द्रुत बस’ र्यापीड ट्रान्जीट (बीआरटी) सेवा सञ्चालन गर्ने भएको छ ।

प्रधानमन्त्री कार्यालयबाट स्वीकृत पाएपछि मन्त्रालयले आवश्यक तयारी गरेर असोज १ गतेबाट सञ्चालनको तयारी गरेको हो ।

हाल कोलम्बियाको बोगाटा, अस्ट्रेलियाको सिड्नी, ताइवानको ताइपेई, बेलायतको लन्डन, टर्कीको इस्तानबुल, पाकिस्तानको पेसावरलगायत ठूला सहरमा यस्ता बस सेवा सञ्चालनमा छन् ।

राजधानी उपत्यकामा धेरै ट्राफिक जाम र सार्वजनिक यातायातमा सवार ब्यक्ति समयमा गन्तब्य पुग्न कठिन भएपछि द्रुत बस सेवा सञ्चालन गर्न लागिएको मन्त्री प्रकाश ज्वालाले बताए ।

‘भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म पहिलो चरणमा द्रुत बस सेवा सञ्चालनको तयारी गरिरहेका छौ’ मन्त्री ज्वालाले भने, ‘आगमी असोज १ देखि भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सेवा सञ्चालन हुन्छ, त्यसपछि अन्य रुटमा पनि चलाउन थाल्छौ ।’

तत्कालका लागि द्रुत बस सेवा अध्याधिक जामको समय विहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुने भएको छ । त्यसका लागि ४० सिटभन्दा माथीका करिव २५ बस सञ्चालनमा ल्याउने तयारी गरेको मन्त्रालयले जनाएको छ ।

द्रुत बस सेवा सञ्चालनका लागि छुट्टै लेन, बसको कलर नै फरक हुने भएको छ । द्रुत बस सेवाको सडक लेन बनाउन मन्त्री ज्वालाले सडक विभागलाई र बसको आकार प्रकार, सफाइ र रोड प्रमिटको ब्यवस्था मिलाउन यातायात ब्यवस्था विभागलाई निर्देशन दिइसकेका छन् ।

पहिलो चरणमा भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म सञ्चालन हुनेछ । अत्याधिक जामको बेला सुर्य विनायकदेखि रत्नपार्कसम्म सार्वजनिक यातायातमा आउँदा १ घण्टा ३० मिनेट लाग्ने गरेको छ । ‘द्रुत बस सेवा सञ्चालन भएपछि अध्याधिक जामको बेला पनि ४५ मिनेटमा पुग्न सकिने गरी यातायात सञ्चालन गर्दैछौ’ यातायात ब्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले भने ।

Fastrack_A_and_B_1689840162.jpg

द्रुत बस सेवाका लागि मन्त्रालयले मोवाइल एप समेत बनाउने जनाएको छ । द्रुत बस कुन समयमा कुन ठाउँमा आइपुग्छ त्यसको जानकारी एपबाट हेर्न मिल्नेछ ।

भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म करिब १३ किलोमिटर दूरीमा सुधारिएको बस सेवा तत्काल संचालनको ब्यवस्था मिउलान प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले यसअघि नै स्वीकृति दिएको छ ।

सरकारले सुधारिएको बस सेवा सन्चालन गर्नका लागि गत वैशाख ११ गते कार्यदल गठन गरेको थियो । कार्यदल गठन गरेपछि जेठ २१ देखि असार ५ गतसम्म अध्ययन भएको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update