Public Pana
पर्यटनमन्त्री किराँतीले कोरियासँग सिधा हवाई र कोरिया जाने कामदारबारे गरे वार्ता

पर्यटनमन्त्री किराँतीले नेपालका लागि कोरियाली राजदूत प्राक तेइयुङसँग नेपाल कोरिया सिधा उडानको प्रस्ताव राखेका छन् । आज बिहीबार भएको औपचारिक भेटमा उनले नेपाल–कोरिया सिधा उडानको प्रस्ताव गरेका हुन् ।

यस्तै पर्यटनमन्त्री किराँतीले इपीएसअन्तर्गत कोरिया रोजगारीमा गएका नेपालीको सुविधा र सुरक्षाको विषयमा पनि छलफल गरेको मन्त्रालयले जनाएको छ ।

‘नेपाल–कोरियाको दुईतर्फी पर्यटन प्रवर्द्धनसँगै सिधा हवाई उडान, रोजगारीमा जाने नेपाली युवाको सुविधा र सुरक्षाको विषयमा छलफल भएको थियो ।’ सचिवालयले भने अनुसार,’छलफल भएका विषयमा राजदुत तेइयुङले कुटनीतिक रुपमा यी प्रक्रिया अघि बढाउने बताउनुभएको छ ।’

नेपाल–कोरिया बीच सन् २००४ सेप्टेम्बर २१ मा दुईपक्षीय हवाई सम्झौता भएको थियो । यसअन्तर्गत साताको ८ सय र वार्षिक ४१ हजार ६०० यात्रुलाई सेवा दिन सकिने सम्झौता भएको थियो ।

नेपाल वायुसेवा निगमले यसका लागि उडान प्रक्रिया सुरु गरिसकेको जनाएको छ । ‘अहिले हामी अनुमति लिने प्रक्रियामा छौं । कुटनीतिक रुपमा प्रक्रिया अघि बढिरहेको छ ।’
 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update