Public Pana
एक क्विण्टल सुन बरामदमा मल्होत्रादेखि अग्रवालमाथि अनुसन्धान जारी

राजस्व अनुसन्धान विभागले झण्डै एक क्विण्टल सुन बरामद प्रकरणमा हालसम्म एक जना एजेन्टसहित छ जनालाई पक्राउ गरेको छ ।

बूढानीलकण्ठमा रहेको ‘रेडी ट्रेडर्स प्रा.लि.’का नाममा आएको उक्त परिणामको सुन हिजो बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागेको अवस्थामा बरामद गरेको थियो ।

सो सुन बरामद प्रकरणमा पक्राउ पर्नेहरूमा रेडी ट्रेडर्स प्रा.लि.का सञ्चालक दोलखाको मेलुङ गाउँपालिका ३ घर भई हाल काठमाडौँको साँखु बस्ने २१ वर्षीय दिलिप भुजेल, सोही ठेगाना घर भई स्वयम्भू बस्ने वर्ष ५३ का रामकुमार भुजेल रहेका छन् ।

यस्तै, भन्सार एजेण्ट राजेन्द्र राई, हर्क राई र ट्याक्सी चालक अशोक लामा रहेका छन् । एक जनाको नाम खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

सुन प्रकरणमा काठमाडौँको कालिकास्थानमा रहेको सिल्भर सिटी अपार्टमेण्टका मालिक दिपक मल्होत्रा र सोनी अग्रवालतिर अनुसन्धान केन्द्रित रहेको स्रोतले जनाएको छ ।

विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ । सुन हङकङबाट ल्याइएको हो । नेपालमा एकैपटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो ।

सुनबारे छानबिन गर्न समिति बनाइएको छ । गत बुधबार करिब एक सय किलो अवैध सुन बरामद गरेपछि भन्सार विभागले विभागकै अनुसन्धान विभागका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छानबिन गर्न समिति बनाएको हो ।

यस्तै,अनुसन्धानको पहिलो चरणमा उक्त सुन जाँच पासमा संलग्न सबैलाई निलम्बन गर्ने तयारी गरिएको विभागले जनाएको छ ।

विभागले भन्सारबाट सुन पास भएको विषय संगठित रुपमा भएको हो वा प्राविधिक कमजोरीमा तस्करले फाइदा उठाएको भन्ने यकिन गर्ने तयारी गरेको छ ।

मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन हिजो बुधबार भन्सार जाँच पास गरी बाहिरिएको सूचना पाएपछि राजश्व अनुसन्धान विभागले गरेको कारबाहीको क्रममा बरामद भएको हो ।

यो प्रकरणमा एक भारतीय नागरिकसहित ६ जना पक्राउ परिसकेका छन् । विभागले बरामद सुनको जोख्न राष्ट्र बैंक लैजाने तयारी गरेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update